
काठमाडौँ ।राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनासँग विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ)का महानिर्देशक डाक्टर टेड्रोस अधानोम गेब्रेयससले शिष्टाचार भेटघाट गर्नुभएको छ ।
स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री विरोध खतिवडाको निमन्त्रणामा डा टेड्रोस तीनदिने भ्रमणका क्रममा बिहिवार नेपाल आइपुग्नुभएको हो । डा टेड्रोस र अध्यक्ष तिमिल्सिनाबीच सिंहदरबारस्थित अध्यक्ष तिमिल्सिनाको कार्यकक्षमा भेटवार्ता भएको हो ।
अध्यक्ष तिमिल्सिनाले कोरोना महामारीको कठिन समयमा संसारभरिका मानिसको जीवन बचाउनका लागि डब्लुएचओले खेलेको भूमिकाको प्रशंसा गर्नुभयो । “विशेष गरी कोभिड–१९ महामारीका समयमा तपाईँको बलियो, व्यावहारिक र दूरदर्शी नेतृत्वको नेपाल प्रशंसा गर्दछ”, उहाँले भन्नुभयो, “तपाईँको यो योगदानलाई विश्वले सधैँ सम्झिरहनेछ ।”
डब्लुएचओले स्थापनादेखि नै सम्पूर्ण विश्वको जनस्वास्थ्य चुनौतीको सामना गर्नका लागि सहयोगी साझेदार भएको स्मरण गर्दै अध्यक्ष तिमिल्सिनाले नेपाललाई कोभिड–१९ नियन्त्रण तथा यसविरुद्धको खोपका लागि प्रदान गरेको सहयोगका लागि धन्यवाद व्यक्त गर्नुभयो ।
“नेपाल सन् २०२२ को मध्यसम्ममा शतप्रतिशत पूर्ण खोप लगाइसक्ने विश्व स्वास्थ्य सङ्गठनको लक्ष्य हासिल गर्ने बाटोमा छ”, उहाँले भन्नुभयो, “यस महामारीको समयमा नेपाललाई सबै सहयोग उपलब्ध गराउनु भएकामा नेपाल सरकार र नेपाली जनताको तर्फबाट म धन्यवाद दिन चाहन्छु ।”
भेटका क्रममा अध्यक्ष तिमिल्सिनाले विश्वभर कोभिडविरुद्धको खोपको समान वितरण हुनुपर्ने जोड दिँदै विशेष गरी केही अफ्रिकी तथा अल्पविकसित मुलुकमा समान वितरण नभएको भन्ने आवाज उठेकोप्रति ध्यानाकर्षण गराउनुभयो ।
उहाँले अन्तर व्यवस्थापिका सङ्घको १४४औँ सम्मेलनमा समेत यो विषय उठेको जानकारी गराउँदै यसमा डब्लुएचओले ध्यान दिनुपर्नेमा जोड दिनुभयो ।
उहाँले नेपाली जनताको स्वास्थ्य आवश्यकतालाई सम्बोधन गर्न नेपाल सरकारलाई सहयोग गरेकोमा डब्ल्युएचओ कन्ट्री अफिस, डब्ल्युएचओ एसइआरओ र सम्पूर्ण डब्ल्युएचओ प्रणालीको प्रशंसा गर्नुभयो ।
“नेपाललाई औषधिको गुणस्तर नियन्त्रण र पहुँचलगायतका क्षेत्र, उन्नत प्रयोगशाला, नियामक क्षमता, मानव संशोधन विकास, प्रविधि स्थानान्तरण र चिकित्सा अनुसन्धान निदानका क्षेत्रमा विश्व स्वास्थ्य सङ्गठनबाट सहयोग र समर्थन आवश्यक छ”, अध्यक्ष तिमिल्सिनाले भन्नुभयो ।
उहाँले नेपालको संविधानले राज्यबाट निःशुल्क आधारभूत स्वास्थ्य सेवा पाउने हकलाई नेपाली नागरिकको मौलिक हकका रूपमा व्यवस्था गरेकाले सबै नागरिकलाई स्वास्थ्य उपचारमा सहज पहुँच पु¥याउन सरकार लागिपरेको समेत बताउनुभयो ।
नेपालस्थित डब्लुएचओको कार्यालयले विभिन्न महत्त्वपूर्ण काम गरेको बताउँदै अध्यक्ष तिमिल्सिनाले आफ्नो आग्रहमा कोभिड–१९ को ‘जोखिम बारेको प्रभावकारी सूचना प्रवाहमा जनप्रतिनिधिको भूमिका’ विषयक कार्यक्रम गर्न सहयोग गरेकामा धन्यवाद व्यक्त गर्नुभयो ।
उहाँले भन्नुभयो, “कोभिड–१९ महामारी नियन्त्रणका लागि जनप्रतिनिधिको भूमिका महत्त्वपूर्ण रहन्छ भन्ने उदाहरण सो कार्यक्रमले प्रस्तुत गरेको छ । सो कार्यक्रमको नेतृत्व गर्न पाउँदा खुसी व्यक्त गर्दछु र प्राविधिक सहयोगका लागि डब्लुएचओलाई धन्यवाद व्यक्त गर्दछु ।”
उहाँले नेपाल सरकार, सङ्घीय संसद् र डब्लुएचओ बीचको सहकार्य जनस्वास्थ्यका क्षेत्रमा उल्लेखनीय रहने र सम्बन्धलाई अझ प्रगाढ बनाउनुपर्ने बताउनुभयो ।
त्यसैगरी अध्यक्ष तिमिल्सिनाले महानिर्देशक डा टेड्रोसलाई दोस्रो कार्यकालका लागि भएको मनोनयनलाई नेपालको तर्फबाट समर्थन गर्दै सफल कार्यकालको शुभकामना व्यक्त गर्नुभयो ।
डब्लुएचओका महानिर्देशक डा टेड्रोसले नेपालको संसद्को नेतृत्वकर्ताका रूपमा अध्यक्ष तिमिल्सिनालाई स्वास्थ्य क्षेत्रमा राखेको चासोबाट आफू प्रभावित भएको बताउनुभयो ।
“तपाईँ बोलेर मात्रै होइन स्वास्थ्यसम्बन्धी कार्यक्रममा सक्रिय रूपमा सहभागी हुनुभएको छ”, उहाँले भन्नुभयो, “डब्लुएचओसँगको सहकार्यमा यहाँले नेतृत्व गरेर भएका कार्यक्रमले कोभिडका समयमा सबै राजनीतिक पार्टी तथा जनप्रतिनिधिलाई एकजुट हुन र यसको नियन्त्रणमा साझा रूपमा लाग्न प्रेरित गरेको छ ।”
आज अपराह्न डब्लुएचओका महानिर्देशक डा टेड्रोस नेपाल आउनुभएको हो । उहाँले आज स्वास्थ्य मन्त्री खतिवडासँग समेत भेटवार्ता गरिसक्नुभएको छ । भोलि राष्ट्रपति विद्यादेवी भण्डारी तथा प्रधानमन्त्री शेरबहादुर देउवालाई भेट्ने कार्यक्रम रहेको छ ।
प्रतिक्रिया