
पाल्पा । नेकपा एमाले पाल्पाले दश वटै स्थानीय तहमा उम्मेदवारको टुङ्गो लगाएको छ । २ नगरपालिका र ८ गाउँपालिका रहेको पाल्पामा तानसेन र रामपुर नगरपालिकामा नयाँ अनुहारलाई एमालेले अवसर दिएको छ । केही स्थानमा भने पुरानै जनप्रतिनिधि दोहोरिएका छन् ।
एमाले लुम्बिनी प्रदेश कामिटिको बैठकले उम्मेदवार टुङ्गो लगाएको हो । एमाले जिल्ला अध्यक्ष समेत रहेका धनेन्द्रराज घिमिरे तानसेन नगरपालिकाको नगरप्रमुखको उम्मेदवार बनेका छन् । उप–प्रमुखमा शशि श्रेष्ठलाई उम्मेदवार बनाएको छ । रामपुर नगरपालिकामा शिव अर्याललाई प्रमुखको उम्मेदवार बनाएको छ । उप–प्रमुखमा भने २०७४ कै उम्मेदवार दुर्गा रानालाई टुङ्गो लगाएको छ । रम्भामा पनि यसअघि अध्यक्ष र उपाध्यक्ष भएका विष्णुप्रसाद भण्डारी र राधादेवी श्रेष्ठलाई उम्मेदवार बनाएको छ ।
बगनासकाली गाउँपालिकामा अध्यक्षमा हालकी पालिका उपाध्यक्ष सरस्वती दर्लामी चिदी र उपाध्यक्षमा एमाले पालिका अध्यक्ष हरि पाठकलाई उम्मेदवार बनाएको छ ।निस्दी गाउँपालिकामा पुरानै अनुहार मुक्तबहादुर सारुलाई अध्यक्ष र उपाध्यक्षमा नयाँ अनुहार तीरण श्रेष्ठलाई उपाध्यक्षमा उम्मेदवार बनाएको छ । पूर्वखोला गाउँपालिकामा पुरानै जनप्रतिनिधि नुनबहादुर थापा र भागिरथी भट्टराईलाई उम्मेदवार बनाएको छ ।
तिनाउ गाउँपालिकामा नयाँ अनुहारलाई उम्मेदवार बनाएको छ । अध्यक्षमा प्रेम श्रेष्ठ, उपाध्यक्षमा सावित्रा रानालाई उम्मेदवार बनाएको छ । माथागढीमा अध्यक्षमा यम चिदी र उपाध्यक्षमा विष्णु लुङ्चेलाई उम्मेदवार टुंग्याएको छ । रिब्दीकोटमा पुरानै अनुहार अध्यक्षमा नारायणबहादुर जीसी र उपाध्यक्षमा लक्ष्मी खनाल उम्मेदवार बन्ने भएका हुन् । जीसी र खनाल २०७४ सालमा निर्वाचित भएका जनप्रतिनिधि हुन् ।
रैनादेवी छहरामा रामबहादुर राउत र उपाध्यक्षमा गीता भट्टराई घिमिरे उम्मेदवार टुङ्गो लगाएको एमाले जिल्ला इन्चार्ज तथा पोलिटब्युरो सदस्य ठाकुर गैरेले जानकारी दिनुभयो ।
प्रतिक्रिया