साना। यमनको हुथी विद्रोहीको नियन्त्रणमा रहँदै आएको यमनी राजधानी सानाको विमानस्थलबाट छ वर्षपछि गरिने भनिएको पहिलो व्यावसायिक उडान आइतबार फेरि रोकिएको छ ।
देशका युद्धरत पक्षबीच उडान अवरूद्ध हुनुमा आरोपबीच अनिश्चितकालका लागि उडान अवरूद्ध भएको हो ।
यमनको राष्ट्रिय ध्वजावाहक यमेनिया एयरवेजको विमानले चिकित्सा उपचारको आवश्यकता रहेका यात्रुहरूलाई जोर्डनको राजधानी अम्मानसम्म पु¥याउन आइतबार बिहान साना अन्तराट्रिय विमानस्थलबाट उडान गर्ने योजना बनाएको थियो ।
उडान गर्ने योजना सरकार र विद्रोहीबीच दुई महिनाका लागि भएको युद्धविराम सम्झौताको एक प्रमुख बुँदासमेत रहेको थियो ।
उडान हुनुभन्दा केही घण्टाअघि एयरलाइनले उडान अनुमति प्राप्त नभएको भन्दै यात्रुहरूलाई परेको असुविधाप्रति क्षमा याचनासहित सूचना जारी गरेको थियो ।
सानाको हुथी नियन्त्रित उड्डयन प्राधिकरणका उप प्रमुख रैयद जबलले उडानको लागि अनुमति पत्र जारी गर्न अस्वीकार गरेकोमा यमनी सरकारलाई दोषी देखाउनुभयो ।
“यो यमनका लागि संयुक्त राष्ट्रसंघका विशेष प्रतिनिधिले घोषणा गरेको सम्झौताको उल्लङघन हो,” हुथीद्वारा सञ्चालित अल–मसिरा टिभीले हुथी अधिकारीलाई उद्धृत गर्दै समाचार सम्प्रेषण गरेको छ ।
यसैबीच, अन्तरराष्ट्रिय सुमुदायबाट मान्यता प्राप्त यमनी सरकारका सूचना तथा सञ्चार मन्त्री मोम्मर अल–एरियानीले एक ट्वीटमा बताएअनुसार सरकारले उडान भर्न अस्वीकार गर्नुमा सरकार दोषी नभएको दावी गर्नुभयो ।
उहाँले केही यात्रुहरूसँग ‘सरकारद्वारा जारी गरिएको पासपोर्ट’ नभएको र विना पासपोर्ट उनीहरूलाई विदेशी भूमिमा पठाउन नसकिएको बताउनुभयो ।
यमनी सरकारले १०४ यात्रुलाई विमानमा चढ्न अनुमति दिन सहमत भएको थियो भने हुथी समूहले ‘नक्कली पासपोर्ट’ सहित अरु ६० जना यात्रु दबाव दिएपछि उडान नै रद्ध गर्नुपरेको आरोप मन्त्रीे अल–एरियानीले बताउनुभयो ।
उहाँले संयुक्त राष्ट्रसंघलाई हुथी समूहलाई ‘उडान छिटो गर्न’ दबाब दिन आग्रहसमेत गर्नुभएको छ ।सिन्ह्वा
प्रतिक्रिया