रौतहट, ४ वैशाख । रौतहटमा विवाह हुन लागेको एक घरमा करेन्ट लागेर एक महिलाको मृत्यु भएको छ भने ७ जना घाइते भएका छन् । बिहे घरमा गीत गाउँने क्रममा माइकमा विद्युतको करेन्ट प्रवाह भइ लाग्दा ३० वर्षीया सम्घरिया देवीको मृत्यु भएको हो।
दुर्गाभगवती गाउँँपालिका १ स्थित शिव मन्दिर टोलका नरेश राउतको छोरीको विवाहको पूर्वसनध्यामा शनिवार अबेर गाउँँलेहरू भेला भएर नाचगान गरिरहेका थिए । गीत गाउँने क्रममा माइकमा एकाएक करेन्ट प्रवाह हुँदा नरेश राउतकी सम्घरिया देवीलाईसहित ८ जना महिलालाई करेन्ट लागेको थियो ।
सुकदेवचोकस्थित शिवदर्शन अस्पतालमा उपचारको क्रममा देवीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ । करेन्ट लागेर घाइते हुनेहरूमा दुर्गाभगवती १ पिपरा बस्ने सिता देवी राउत बरै, अनिता देवी राउत, मन्तोरिया देवी, मुनि राउत, केवला देवी, शुसिला देवी र हिरिया देवी रहेको प्रहरीले जनाएको छ। तराई मधेसमा विवाह हुँदा झन्डै दुर्ईसाता अघिदेखि छिमेकीहरू बिहे घरमा जम्मा भएर लगनको शुभगीत गाउँने चलन रहेको छ।
प्रतिक्रिया