
बारा । साबिक विजेता सङ्कटा क्लबमाथि रोमाञ्चक जित हात पार्दै बाग्मती युवा क्लब, सर्लाही जगदम्बा १२औँ जीतपुरसिमरा गोल्ड कपको सेमिफाइनलमा प्रवेश गरेको छ ।
सिमरा रङ्गशालामा मङ्गलवार भएको अन्तिम क्वार्टर फाइनल खेलमा बाग्मतीले सङ्कटामाथि १ −० को जित निकालेको हो ।
बाग्मतीको जितसँगै गोल्ड कपको सेमिफाइनलको समीकरण पूरा भएको छ ।
बाग्मतीले अब फाइनल प्रवेशका लागि विभागीय टिम एपिएफ क्लबसँग खेल्नेछ ।

हिमालयन शेर्पालाई पराजित गर्दै एपिएफ क्लब यसअघि नै प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरिसकेको छ ।
प्रतिस्पर्धात्मक भिडन्तमा बाग्मती सङ्कटामाथि अतिरिक्त समयमा गोल गर्दै जित निकालेको हो । निर्धारित समयमा दुवै टिमले गोलरहित बराबरी खेलेपछि खेल अतिरिक्त समयमा धकेलिएको थियो । अतिरिक्त समयको २७औँ मिनेटमा बाग्मतीका लागि अनिल राना मगरले गोल गरेका हुन् । डिना गुरुङले प्रहार गरेको फ्रिकिक बलमा अनिलले टिमका लागि निर्णायक गोल गरेका थिए ।

बाग्मतीको तुलनामा आकर्षक खेल प्रदर्शन गरे पनि फिनिसिङमा चुकेको सङ्कटा अन्ततः पराजय भोग्दै प्रतियोगिताबाट बाहिरियो । सङ्कटाले खेलको सुरुवातदेखि बाग्मतीमाथि दबाब सिर्जना गरेको थियो ।
ए डिभिजनका अनुभवी खेलाडीसहित मैदानमा उत्रिएको सङ्कटा पहिलो हाफमा बाग्मतीलाई कुनै अवसर बनाउन दिएनन् । खेलको म्यान अफ दि म्याच बाग्मतीका अभिशेष वाइबा घोषित भए ।
प्रतिक्रिया