कलैया ,बारा । नेपाली कांग्रेस बाराको नयाँ नेतृत्व चयनका लागि दोस्रो चरणको निर्वाचन फागुन २८ गते हुने भएको छ ।
कांग्रेस बाराका निर्वाचन अधिकृत राजकुमार उप्रेतीका अनुसार पहिलो चरणको निर्वाचनमा कुनैपनि उम्मेदवारले ५१ प्रतिशतभन्दा बढी मत नल्याएपछि नेपाली कांग्रेस बारामा फागुन २८ गते दोस्रो चरणको निर्वाचन गर्न लागिएको हो ।
बुधबार सम्पन्न पहिलो चरणको निर्वाचनको आज बिहिबार बिहान आएको अन्तिम मतपरिणामका अनुसार सभापतिमा दावेदारी गरेका कुनैपनि उम्मेदवारले ५१ प्रतिशत मत ल्याउन सकेका थिएनन् । एकजनाले पनि ५१ प्रतिशत मत नकटाएपछि कांग्रेसको विधान अनुसार दोश्र चरणको निर्वाचन गर्न लागिएको उप्रेतीले बताए ।
बिहीबार बिहान सम्पन्न मतगणना अनुसार संस्थापन पक्षका राजेश राय यादवले सबैभन्दा बढी ८ सय ३३ , संस्थापन पक्षकै शम्भुबहादुर बुढाथोकीले ८ सय ९ र संस्थापन इतर पक्षका रामान्द यादवले ७ सय ८ मत प्राप्त गरेका थिए ।
दोस्रो चरणमा सभापतिका लागि पहिलो चरणमा भएको निर्वाचनमा प्रथम र दोस्रो मत ल्याएका राजेशराय यादव र शम्भु बुढाथोकीबीच प्रतिस्पर्धा हुने भएको छ ।
यसअघि बुधबार कलैयास्थित श्री तिन चन्द्र मावि परिसरमा भएको पहिलो चरणको निर्वाचनमा कुल २ हजार ४ सय ८१ मत मध्ये २ हजार ४ सय मत खसेको थियो ।
त्यसअघि गत शनिबार कांग्रेस बाराको निर्वाचन, करिब ५० प्रतिशत मत खसेर धाँधली भएको भन्दै स्थगित भएको थियो ।
प्रतिक्रिया