जनकपुरधाम । मधेस प्रदेशको प्रदेशसभामा खाली रहेको तीन वटा विषयगत समितिका लागि सत्ता गठबन्धनका तीनै वटा दलको तर्फबाट एक/एक जनाले उम्मेदवारी दर्ता गराउनुभएको छ ।
प्रदेशसभा सचिवालयले विषयगत समितिको सभापति लागि उम्मेदवारी दर्ता गराउन आज ११ बजेदेखि ५ बजेसम्मको समय दिएकोमा सत्ता गठबन्धनको तर्फबाट उम्मेदवारी दर्ता भएको छ ।
सार्वजनिक लेखा समितिमा नेपाली काँग्रेसको तर्फबाट नरेश कुमार यादवको उम्मेदवारी दर्ता गराउनुभएको छ भने प्राकृतिक स्रोत तथा वातावरण समितिमा नेकपा माओवादी केन्द्रको तर्फबाट जगतप्रसाद यादव र कृषि तथा भूमि व्यवस्था समितिमा एकीकृत समाजवादीबाट मदन सेन श्रीवास्तवले उम्मेदवारी दर्ता गराउनुभएको छ ।
यता प्रमुख प्रतिपक्षी दल लोकतान्त्रिक समाजवादी पार्टी र नेकपा एमालेको तर्फबाट अहिले उम्मेदवारी दर्ता भएको छैन । दुवै दलले गठबन्धन बनाएर उम्मेदवारी दर्ता गराउने भएको लोकतान्त्रिक समाजवादीका प्रमुख सचेतक परमेश्वर साहले जानकारी दिनुभयो ।
लोसपा–एमालेको गठबन्धनले पनि तीन वटै पदमा उम्मेदवारी दिने आन्तरिक तयारी गरेको छ । लोसपाका प्रमुख सचेतक साहले आफूहरू ४ बजेपछि उम्मेदवारी दर्ता गराउने जानकारी दिनुभएको छ ।
मधेस प्रदेशमा जनता समाजवादी पार्टी नेपाल, नेपाली काँग्रेस, नेकपा एस तथा नेकपा माओवादी केन्द्रको संयुक्त सरकार रहेको छ ।
प्रतिक्रिया