वीरगंज । कोरोना सङ्क्रमणको कारण मुलुकका अन्य क्षेत्र प्रभावित भए पनि पर्सा जिल्लामा साना तथा घरेलु उद्योग भने उत्साहजनक रुपमा थपिएका छन् ।
मुलुकको प्रमुख आर्थिक केन्द्र तथा औद्योगिक नगरी वीरगंजमा बहुराष्ट्रिय कम्पनी, ठुला उद्योग कलकारखाना सँगै साना तथा घरेलु उद्योगहरू समेत खुल्ने क्रमले तीव्रता पाएको छ ।
घरेलु तथा साना उद्योग कार्यालय वीरगंज पर्साकी प्रमुख रिमा साहले चालु आर्थिक वर्ष २०७८/७९ को ६ महिनामा पर्सा जिल्लामा ९ सय ९९ वटा उद्योग दर्ता भएको जानकारी दिनुभयो ।
उहाँले कोरोना सङ्क्रमण तथा त्यसका कारण सिर्जित असहज परिस्थितिमा पनि छ महिनामा ९ सय ९९ उद्योग थपिनु आर्थिक विकासका लागि सकारात्मक रहेको बताउनुभयो । चालु आर्थिक वर्षमा उत्पादनमूलक १ सय ६३, कृषि तथा वनजन्य उद्योग ३ सय ७२, सेवामूलक उद्योग ४ सय ६१, पर्यटन सँग सम्बद्ध ३ वटा गरी ९ सय ९९ उद्योग दर्ता भएको साना उद्योग दर्ता भएको घरेलु तथा साना उद्योग कार्यालय वीरगंज पर्साका सूचना अधिकारी सरिता खड्काले बताउनु भयो ।
उद्योग दर्ता सँगै चालु आर्थिक वर्षमा थप ९ सय २२ महिला र २ हजार ७ सय २१ पुरुष गरी ३ हजार ६ सय ४३ जनाले प्रत्यक्ष रोजगारी पाउनुको साथै ६ महिनामा ७० लाख ६ हजार ९ सय ३ रुपैयाँ राजस्व सङ्कलन समेत भएको कार्यालयले जनाएको छ ।
कार्यालयकी सूचना अधिकृत खड्काले आर्थिक बर्ष २०७७÷७८ मा साना उद्योगले ७ हजार ८ सय ११ जनालाई रोजगारी दिएको तथ्याङ्क रहेको जनाउँदै तीमध्ये महिलाको सङ्ख्या २ हजार ६ सय ७५ र पुरुषको सङ्ख्या ५ हजार १ सय ३६ रहेको बताउनुभयो ।
कोरोना महामारीको समयमा पनि यति धेरै उद्योग खुलेर ठूलो सङ्ख्यामा रोजगारी सिर्जना गरिनु आर्थिक विकासका लागि निकै महत्त्वपूर्ण रहेको बीरगंज उद्योग वाणिज्य सङ्घका अध्यक्ष सुबोध गुप्ताले बताउनुभयो ।
दुई वर्ष कोरोनाका कारण आर्थिक क्षेत्र निकै प्रभावित भए पनि घरेलु उद्योग भने वृद्धि हुनु सकारात्मक रहेको बताउँदै वीरगंज उद्योग वाणिज्य संघका पूर्व अध्यक्ष अशोक वैद्यले बेरोजगारी समस्या समाधानका लागि पनि घरेलु तथा साना उद्योगले राम्रो भूमिका निर्वाह गरेको तथ्याङ्कले देखाएको जानकारी दिनुभयो ।
आर्थिक बर्ष २०७७/७८ मा घरेलु तथा साना उद्योग कार्यालयमा १ हजार ४ सय ९ वटा उद्योग दर्ता भएको तथा १ करोड २८ लाख २० हजार २ सय ९५ रुपैयाँ राजस्व सङ्कलन गरेको सूचना अधिकारी खड्काले बताउनुभयो ।
प्रतिक्रिया