महोत्तरी, २ माघ/
महोत्तरीको बर्दिबासमा योग र ध्यान साधना गर्ने निकै बढेका छन् । योग दिवसका अवसर पारेर शुभारम्भ गरिएको बर्दिबास–३ गौरीडाँडा रातमाटास्थित नवनिर्मित योगभवनमा शनिवार पहिलो दिन १०० हाराहारी सहभागी भएका हुन् ।
गत वर्ष योग दिवसकै अवसरमा बर्दिबासमा सामूहिक योग र ध्यान साधना थालिएको हो । योग र ध्यानलाई दैनिक तालिकामै निरन्तरता दिन यससम्बन्धी सचेतना बढाउन जरूरी ठानेर योगभवन निर्माण गरिएको बर्दिबास नगरपालिकाका प्रमुख विदुरकुमार कार्कीले जानकारी दिनुभयो । उहाँले "सामूहिक रूपमा गरिने योग र ध्यान सिकाइका लागि उपयुक्त हुँदो रहेछ । यसैले योग ध्यानवारे सर्वत्र चासो बढोस् भन्ने चाहनाका साथ योगभवन निर्माण गरेका हौँ ।"
सामूहिक योग र ध्यानमा आउने ४० वर्षभन्दा माथिका बढी देखिएका योग गुरू स्वामी प्रेम आलोकले जानकारी दिनुभयो । "यहाँ जनप्रतिनिधिहरूको योग र ध्यानवारे एकदमै सकारात्मक चासो छ," उहाँले भन्नुभयो, "गतवर्ष सांसद गिरिराजमणि पोखरेलको सहयोगमा एउटा पार्टी प्यालेसमा योग प्रशिक्षण थालेका थियौँ, एक वर्षभित्रै अहिले योगभवन नै तयार भयो ।" स्थानीय तहका जनप्रतिनिधि पनि योग र ध्यानको सहभागीता बढाउन चासोका साथ लाग्नुभएको आलोकको ठम्याइ छ । योगभवनमा अहिले आलोकसहित चारजना प्रशिक्षक हुनुहुन्छ ।
नगरपालिकाले आफ्नो क्षेत्रभित्रका विद्यालयमा योग र ध्यानवारे थप कक्षा सञ्चालन गर्ने सैद्धान्तिक निर्णय नै गरेको छ । यसका लागि प्रशिक्षक व्यवस्थापनदेखि अन्य तयारी गरिने नगर कार्यपालिकाको कार्यालयले जनाएको छ । करिब ५२ लाखको लागतमा निर्मित योगभवन निर्माणमा ४०० केभी विद्युत प्रसारण लाइन, पानीखोल्सी रातमाटा सामुदायिक वन उपभोक्ता समिति र बर्दिबास नगरपालिकाले आर्थिक दायित्व निर्वाह गरेका छन् । योगभवनको एकसाथ ३०० जनाले अभ्यास गर्नसक्ने क्षमता रहेको बर्दिबास–३ का वडाध्यक्ष राजन ढुङ्गानाले जानकारीदिनुभयो ।
प्रतिक्रिया