वीरगंज, १९ मंसिर । वीरगंज महानगरपालिकाको वडा नं. २५ श्रीसियाको सुक्खा बन्दरगाह र एकीकृत जाँचचौकीबीचको रोक्का राखिएको जग्गा फुकुवाको मांग गर्दै आज बाटो अवरूद्ध गरी टायर बालेर प्रदर्शन भएको छ ।
सुक्खा बन्दरगाह अगाडी वीरगंज–पोखरिया सडक अवरूद्ध गरी स्थानीयहरूले विहान ११ः३० देखि १ः३० सम्म टायर बालेर प्रदर्शन गरेका छन् । बन्दरगाह र एकीकृत जाँचचौकीबीचको रोक्का राखिएको ६२ बिघा जग्गाको फुकुवा गर्नु पर्ने अथवा उचित मुआवजा दिनु पर्ने माग राख्दै स्थानीय जग्गा धनीले प्रदर्शन गरेका हुन् ।
वीरगंज ड्राइपोर्ट बस्ती अतिक्रमण विरूद्धको संघर्ष समितिको आयोजनामा भएको प्रदर्शनका कारण लामो तथा सानो दुरीको चल्ले सम्पूर्ण सवारी साधनहरू २ घण्टा सम्म अवरूद्ध भएको थियो ।
सो क्षेत्रको प्रति कठ्ठा जग्गाको न्यूनतम २४ लाखदेखि अधिकतम ६७ लाख रुपियाँँसम्म मुआवजा दिने निर्णय सार्वजनिक भए पछि संघर्ष समितिले थप आन्दोलनको कार्यक्रम घोषण गर्दै बाटो अवरूद्ध गरी प्रदर्शनमा उत्रेका हुन् । रोक्का राखिएको जग्गा प्रति धुर ५ लाख देखि १५ लाख सम्म बिक्री हुने गरे ता पनि प्रति कठ्ठा २४ लाख देखि ६७ लाख सम्म मुअबजा दनेको निर्णय आफुहरूलाई मान्य नभएको संघर्ष समितिका संयोजक अमिका प्रसाद पटेलले वताए । उनले भने हाम्रो आन्दोलन उचित मुआवजाको निकास वा पुनर्वासको व्यवस्था नभए सम्म जारी रहने छ ।
भोली शुक्रवार फेरी ११ बजे देखि २ बजे सम्म सडक अवरोध गर्ने संघर्ष समितिको आन्दोलनको कार्यक्रम रहेको छ ।
तीन वर्षदेखि रोका राखिएको जग्गा फुकुवा तथा मुआवजा वितरण हुन नसक्दा गाउँलेहरूले घरजग्गाको कारोवार तथा वित्तीय कारोवारसमेत गर्न पाएका छैनन् ।
प्रतिक्रिया