काठमाडौं, मंसिर २५
हुलाकी राजमार्ग अन्तर्गतको दुई पुलको निर्माण समयमै नसकिएछि सडक विभाग अन्तर्गत हुलाकी राजमार्ग योजना कार्यलयले ठेक्का सम्झौता तोडेको छ।
हुलाकी राजमार्ग अन्तर्गत भैरहवा लुम्बिनी सडक अन्तर्गतको लिनाउखोला पुल र सोही सडक खण्डको डोण्डा पुलको निर्माण ठेक्का रद्द भएको हो।
यी दुवै पुल निर्माणको ठेक्का पप्पु/वास्ती जेभीले लिएको थियो।
हुलाकी राजमार्ग योजना कार्यालय कपिलवस्तुले बुधबार सूचना निकाल्दै उक्त ठेक्का सम्झौता रद्द भएको जानकारी दिएको छ।
गत असार ३ गते सूचना निकाल्दै आयोजनाले निर्माण कम्पनीलाई निर्माण कार्य छिटो सक्न आदेश दिएको थियो। त्यस्तै, भदौ ४ गते पुनः सूचना निकाल्दै काम ढिलो भएकोमा स्पष्टिकरण पनि मागेको थियो।
त्यसपछि निर्माण कम्पनीले कार्यसंशोधन गर्ने नयाँ कार्यतालिका बनाएर काम अघि बढायो। तर निर्माण कम्पनीले गरेको काममा आश्वस्त हुन नसकेको भन्दै कार्यालयले कानुन अनुरूप नै ठेक्का तोडेको बताएको छ।
सूचनामा एक हप्ताभित्र निर्माणस्थल खाली गर्न समेत आयोजनाले निर्माण कम्पनीलाई आदेश दिएको छ।
आयोजनाले उक्त निर्माण कम्पनीले गरेको कामको भुक्तानीका लागि मंसिर २९ देखि पुस ६ सम्म निरीक्षण टोली पुग्ने सूचनामा उल्लेख छ।
काठमाडौं उपत्यकाको तीनकुने र टेकुमा पप्पु कन्ट्रक्सनले निर्माण गरिरहेको दुवै पुल भत्काइने भएको छ।
गुणस्तरहीन काम भएको भन्दै पुल भत्काउन लागिएको काठमाडौं उपत्यका सडक विस्तार आयोजनाले जनाएको छ।
प्रतिक्रिया