कार्तिक २६,
ठोरी गाउँपालिका -५ मा रहेको ऐतिहासिक शक्तिपिठ बाघमोर्चामाई मन्दिर परिसरमा पुजाअर्चना गर्नेको आज बिहानैदेखि भिड लागेको छ।हरेक बर्ष कार्तिक शुक्ल पुर्णिमाको दिन पुजापाठ गर्न आउने दर्शनार्थीहरुको भिड लाग्ने मन्दिरमा आज बिहान करीब २ बजे मन्दिरका पुजारी रामधनी गुरुले पुजापाठ गरेपछि पुजा गर्ने र पशुबलि दिनेको ठूलो भिड लागेको हो।
ठोरी क्षेत्रमा नै ऐतिहासिक आस्थाको केन्द्रको रुपमा रहेको बाघमोर्चामाई शक्तिपिठमा पुजा गर्दा मनाेकांक्षा पूरा हुने जनविश्वास रहिआएको छ।हिन्दु र गैरहिन्दु दुबै समुदायले उत्तिकै श्रद्धा भक्तिपुर्वक पुज्ने मन्दिर परिसरमा बिहान २ बजेदेखि नै पुजा गर्न आउने श्रद्धालु भक्तजनहरुको घुइँचो लागेको पुजा व्यवस्थापन समितिका सदस्य राकेश श्रेष्ठले जानकारी दिए ।भारतको भङ्गहा,इनरुवा ,बेतीया लगायतका सिमावर्ती क्षेत्रहरु र नेपालकै पर्सा,बारा,मकवानपुर ,चितवन लगायतका विभिन्न जिल्लाहरुबाट बाघमोर्चामाई दर्शन गर्न आउनेको घुइँचो लागेको हो।त्यसैगरी मन्दिर परिसरमा बोका र कुखुराको बलि दिने भक्तजनको पनि उत्तिकै भिड छ।बिहान सबेरैदेखि ठोरीको ब्रम्हानगर,निर्मलवस्ती,नयाँवस्ती,सुन्दरटोल,शान्तिटोल,फायरलाईन,मिलचोक,विशालचोक,विजयवस्ती,बाघमोर्चा,सुवर्णपुर त्यसैगरि जीराभवानी गापा लगायतका ठाउँहरुबाट आएका दर्शनार्थीहरुले पशुबलि दिइरहेको पुजा व्यवस्थापन समिति सदस्य श्रेष्ठले जानकारी दिए। बाघमोर्चामाईको भाकल गर्नेहरुले बिशेष गरेर आज कुखुराको भाले र बोकाको बलिदिने गर्दछन् । कुखुराको भालेको बलिदिई पूजाआराधना गरे मनोकांक्षा पूरा हुने जनविश्वास रहेकाले सयौंको संख्यामा आज भाले र बोकाको बलि दिइएको पुजा व्यवस्थापन समितिले जनाएको छ।
यस्तै मन्दिर परिसरमा अघिल्ला बर्षहरुमा कार्तिक शुक्ल पुर्णिमाकै दिनदेखि मेला लाग्ने गरेको भएको भएपनि यसबर्ष हिजोदेखि नै मेला लागेको छ।यद्यपि मेलामा आजबाट मात्र अबलोकन गर्न आउनेहरुको चहलपहल बढेको छ। प्रत्येक बर्ष यसक्षेत्रमा कार्तिक शुक्ला पूर्णिमा देखि एकसातासम्म मेला लाग्ने गर्दछ ।
यस क्षेत्रैको धार्मिक आस्थाका रुपमा परिचित शक्तिपीठ बाघमोर्चा माईको दर्शन गर्न तथा मेला हेर्नका लागि बारा, पर्सा लगायत छिमेकी मुलुक भारतबाट समेत दर्शनार्थी आउने गरेको ठोरी गापा अध्यक्ष पदमलाल श्रेष्ठले बताए । मेलाको दोस्रो दिन आज बिहानैदेखि बिजयबस्ती, नयाँबस्ती, निर्मलबस्ती, बाघमोर्चा, मालीबस्ती सुर्वणपुर, महादेपटी, सेढवा, ठोरी तथा भारतको सिमावर्ती गाउँ लगायतका स्थानबाट बाघमोर्चमाईको दर्शन गर्न आउनेको भिड लागेको मेला व्यवस्थापन समितिले जनाएको छ।
यसबर्ष पनि मेलामा विभिन्न खेलहरु,होटेल ,विभिन्न सरसामान किन्न पाइने व्यवसायीक स्टलहरु लगायत हरेक दिन साङ्गितिक प्रस्तुति रहने मेला व्यवस्थापन समिति सदस्य बिमल प्रधानले जानकारी दिए ।यसबर्ष मेला भव्य र सफलतापुर्वक सम्पन्न गर्न स्थानीय सागर पाख्रीनको अध्यक्षतामा मेला व्यवस्थापन समिति गठन भएको छ।
प्रतिक्रिया