२८ कार्तिक २०७६ १२:४१:००
जनकपुरधाम : प्रदेश २ सरकारको बहुचर्चित 'बेटी पढाऊ, बेटी बचाउ' कार्यक्रमप्रति अमेरिकी सरकारले चासो व्यक्त गरेको छ। अमेरिकी राजदूत र्याण्डी बेरीसहितको अमेरिकी टोलीले कार्यक्रमका लक्षित वर्गलाई छुट्टाछुट्टै भेट गरी सहयोग गर्ने उत्सुकता देखाएका छन्।
राजदूत बेरीले बेटी पढाऊ, बेटी बचाउ अभियानको प्रभावकारिता बारे मुख्यमन्त्री कार्यालयमा कर्मचारीसँग जानकारी लिएका छन्। 'अमेरिकी राजदूतले कार्यक्रममार्फत साइकल पाएका छात्रा र छोरी बिमा गराउन आएकाहरूसँग पनि छलफल गरे', कार्यक्रम संयोजक प्रियंका यादवले भनिन्, 'उनको कार्यक्रमप्रति निकै उत्सुकता देखियो।'
'यो कार्यक्रमले छोरीहरूको भु्रण हत्या रोकिने, छोरीहरूले विद्यालयमा निरन्तरता पाउने र बालविवाह अन्त्यमा ठूलो सहयोग पुग्ने राजदूत बेरीको प्रतिक्रिया थियो', प्रदेशका मुख्यसचिव दिपक सुवेदीले भने, 'उनले कार्यक्रमको निकै प्रशंसा गरे। सहयोग घोषणा नगरे पनि आशा देखाएका छन्।'
प्रदेश सरकारको निकै महŒवकांक्षी योजना रहेको 'बेटी पढाऊ, बेटी बचाऊ' कार्यक्रमअन्तर्गत हालसम्म प्रदेशका आठवटा जिल्लाका ४३ सय ३७ नवजात छोरीहरूको बिमा गरिएको छ। बिमा गरिएका छोरीहरूले २० वर्ष पुगेपछि एक लाख रुपैयाँ पाउँछन्। ४ हजार भन्दा बढी नवजात छोरीहरूको बिमा आवेदन दर्ता भएका छन्।
कार्यक्रममार्फत १४ हजार छात्रालाई साइकल वितरण गरिएको छ। प्रदेशका विभिन्न सामुदायिक विद्यालयमा सय वटा छात्रामैत्री शौचालय निर्माण भइसकेका छन्।
एसईई परीक्षामा उत्कृष्ट स्थान ल्याएका २८ छात्रालाई जिपिएको आधारमा राष्ट्रपतिबाट पुरस्कार समेत वितरण भइसकेको छ। त्यसैगरी महिलालाई शिक्षित र सशक्त बनाउन लोकसेवा तयारी कक्षा पाइलट योजनाको रूपमा अघि बढाइएको छ। पहिलो चरणमा सय छात्रालाई जनकपुरको राजर्षी जनक क्याम्पसमा लोकसेवा तयारी कक्षा चलाइएको छ।
आगामी योजना अनुरुप प्रदेशका ८ जिल्लाको सदरमुकाममा लोकसेवा तयारी कक्षा सुरु गरिने छ।
प्रतिक्रिया