कात्तिक ८
पर्सा प्रहरीले २९ लाख रुपैयाँसहित हुण्डी कारोबारीहरूलाई पक्राउ गरेको छ। प्रहरीका अनुसार स्रोत नखुलेको उक्त रकमसहित छ जना व्यक्ति समातिएका छन्।
प्रहरी उपरीक्षक सोमेन्द्रसिंह राठौरका अनुसार एक साता अवधिमा विभिन्न स्थान र मितिमा हुण्डी कारोबारीहरूलाई समातिएको हो। नेपाल÷भारत सिमानामा स्रोत नखुलेको रकम हुण्डीमार्फत कारोबार हुने गरेको प्रहरीको भनाइ छ।
राठौरका अनुसार वीरगन्ज महानगरपालिका १६ रजतजयनुत्रीबाट पाँच लाख ८३ हजार ५६० रुपैयाँसहित बिहार मोतिहारी १६ घर भएका कृष्णमोहन हलवार पक्राउ परेका छन्। कात्तिक ४ गते उनको साथबाट विभिन्न बैंकका चेकबुक, भौचर बरामद भएको राठौरले बताए।
यस्तै, कात्तिक ७ गते वीरगन्ज १६ बाटै १० लाख रुपैयाँसहित तीन जना हुण्डी कारोबारी समातिएका छन्। प्रहरीले बारा खटुवा प्रसौनी गाउँपालिका २ का वीरेन्द्र साह, बारागढी गाउँपालिका २ का शनि जैसवाल र भारत रामगढवा थाना ग्राम बस्ने सकिर मियाँलाई पक्राउ गरेको हो।
साह र जैसवालको साथबाट जनही दुई लाख पचास हजार र मियाँको साथबाट पाँच लाख रुपैयाँ बरामद भएको एसपी राठौरले बताए। यस्तै, प्रहरीले शुक्रबार बिहान वीरगन्ज १६ शंकराचार्य गेटबाट भारत बिहार पूर्वी चम्पारण थाना सुगौली बस्ने गोपालप्रसाद अग्रवाललाई ९ लाख रुपैयाँसहित पक्राउ गरेको छ। वीरगन्ज १६ बस्ने मुन्टुकुमार साहको साथबाट चार लाख पचास हजार रुपैयाँ बरामद गरेको छ।
पक्राउ परेका व्यक्तिहरूलाई अवैध वित्तीय करोबार कसुरमा अनुसन्धान थालिएको एसपी राठौरले सेतोपाटीलाई बताए।
प्रतिक्रिया