वीरगंज, ६ कात्तिक/
वीरगंजको मेनरोड फराकिलो गर्ने काम छठपछि शुरू गर्ने सडक विभागको निर्देशन कार्यान्वयनमा सर्वाेच्च अदालतका कारण ढिला हुने भएको छ ।
सर्वाेच्च अदालतका न्यायाधीश कुमार रेग्मीले असोज ८ गते प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारको नाममा जारी गरेको अल्पकालीन अन्तरिम आदेशका कारण मेनरोड फराकिलो गर्ने काम कात्तिक २४ गतेसम्मका लागि रोकिएको छ । सर्वाेच्चले अन्तरिम आदेश जारी गर्ने विषयमा रिट निवेदकहरूको माग सन्दर्भमा दुवै पक्षबीच कात्तिक ४ गते छलफलको मिति तोकेको थियो । हिजो सोमवार न्यायाधीश कुमार रेग्मी सर्वाेच्चमा उपस्थित नभएको कारण अदालतले कात्तिक ४ गतेको छलफललाई कात्तिक २४ गते सारेको बुझिन आएको छ ।
सर्वाेच्चले असोज ८ गते जारी गरेको अल्पकालीन अन्तरिम आदेशमा सडक विभाग उत्तर–दक्षिण व्यापारिक मार्ग विस्तार आयोजना निर्देशनालयले क्षतिपूर्ति निर्धारण नगरी घर टहरासमेत भत्काउने सूचना जारी गरेकोमा निवेदकहरूको सम्पत्तिको हकमा प्रतिकूल असर परी अपूरणीय क्षति पुग्ने देखिंदा उक्त मितिसम्मका लागि ०७६/५/६ गतेको सूचना यथास्थितिमा राख्न आदेशसहित अल्पकालीन अन्तिरिम आदेश जारी भएको थियो ।
हिजो सो सम्बन्धमा छलफल हुन नसकेर कात्तिक २४ गतेको समय पाएकोले अब सो समयसम्म अल्पकालीन अन्तरिम आदेश सक्रिय रहने कानून व्यवसायीहरू बताउँछन् । सर्वाेच्चले कात्तिक २४ गते गर्ने निर्णयपछि मात्र वीरगंजको मेनरोड फराकिलो हुने, नहुने विषय टुङ्गोमा पुग्छ ।
प्रतिक्रिया