वीरगंज। सडक विभाग मातहतको वीरगंज–पथलैया व्यापारिक मार्ग कार्यालय पथलैयाले छठपछि वीरगंजको मुख्य बाटो बिस्तार गर्ने निर्णय गरेको छ।
वीरगंजको गण्डक चोकदेखि घण्टाघर हुदैं शंकाराचार्य गेट सम्म सडकको केन्द्र विन्दुबाट २५ २५ मिटर सडक भत्काउने सूचना पटकपटक प्रकाशित भएपछि वीरगंजका विभिन्न राजनीतिक दलका अगुवा,उद्योगी व्यवसायी तथा वीरगंज बचाउ संघर्ष समितिले भौतिक पूर्वाधार तथा यातायात व्यवस्था मन्त्री रघुबीर महासेठलाई भेटेका छन्। मन्त्री महासेठसँग भेटमा संघर्ष समितिले वीरगंजमा सडक बिस्तार हुँदा नगर सखाप हुने दावी गरे।
छठपपछि त्रिभुवन राजपथको मकवानपुरको दामेचौर हँदै बीरगंजको शंकराचार्य सम्मको मुख्य सडकको वीचबाट दायाँबायाँ दुबैतर्फ २५ मिटर बिस्तार गर्दा सयौ परिवारको उठिबास हुने उनीहरुको भनाई छ।
वीरगंज बचाउ संघर्ष समितिका अध्यक्ष पुरेन्द्र लाभको नेतृत्वमा गएको टोलीमा नेपाली काँग्रेस पर्साका सभापति अजयकुमार द्विवेदी,नेकपा पर्साका अध्यक्ष प्रभु हजरा,राजपाका केन्द्रीय सहमहासचिव नेजामुद्दीन समानी,वीरगंज उद्योग बाणिज्य संघका अध्यक्ष गोपाल केडिया, पूर्ब अध्यक्ष प्रदिप केडियालगायतको सहभागिता थियो । टोलीमा सहभागी प्रतिनिधी सभाका सदस्य लक्ष्मण लाल कर्णले स्थानीयको हितमा काम गर्न आग्रह गरे ।
संबिधान सभाका सदस्य राजकुमार गुप्ताले कम भन्दा कम क्षतिमा बढी बिकासको प्रतिफल प्राप्त गर्ने गरी सरकारले अभियान चलाउनुपर्ने धारणा राखे ।
वीरगंज उद्योग बाणिज्य संघका अध्यक्ष गोपाल केडियाले सडक बिभागको सुचनाले वीरंजको मुख्य सडकमा घर भएकाहरु निकै आतंकित भएको भन्दै सामान खरिद गर्दा उधारो दिन समेत बन्द भएको अवस्थाबारे बताए। संघका पूर्ब अध्यक्ष प्रदिपकुमार केडियाले बिकासको नाममा बिनाश गरेर कसैको हित नहुने तर्क गरे ।
मन्त्रीमहासेठले डेलिगेशन टोलीको समस्या सुनेपछि वीरगंज आएर निरीक्षण गरेपछि मात्र आफ्नो धारणा बताउने जानकारी दिए। उनले भने,'अहिले नै आतिइहाल्नु पर्ने अवस्था छैन,चाडबाड मनाऔ, म वीरगंज आएर स्थानीयको सुझाव अनुसार सडक विस्तारको काम गर्न पहल गर्नेछु ।'
प्रतिक्रिया