राम मण्डल
वीरगञ्ज– बाराको परवानीपुर गाउँपालिका वडा नम्बर ५ का वडाध्यक्ष रामेशवर प्रसाद कलवारले आफूलाई थाहा नै नदिई मन्त्रीले जबरजस्ती आफ्नो वडामा निर्माण भएको धर्मशालाको उद्घाटन गरेकाे भन्दै आपत्ति जनाएका छन्।
वडाध्यक्ष कलवारले आईतबार पत्रकार सम्मेलन गरेर प्रदेश नम्बर २ का भौतिक तथा पूर्वाधार विकास मन्त्री जितेन्द्र सोनलले जबरजस्ती दादागिरी देखाएर आफूलाई वाईपास गर्दै वडामा निर्माण भएको धर्मशालाको उदघाटन गरेको आराेप लगाएका हुन्।
वडाध्यक्ष कलवारले आफ्नो वडामा निर्माण भएको धर्मशालाको उदघाटन हुने नहुने बारे आफूलाई कुनै जानकारी नै नदिई मन्त्री सोनलले प्रहरी प्रशासनको बलमा जबरजस्ती धर्मशालाको उदघाटन गरेको बताए।
उनले धर्मशाला उदघाटन गर्न मन्त्री सोनल आएका बेला आफूले विरोध गर्दा मन्त्री सोनलले प्रहरी लगाएर आफूलाई थुन्न लगाएको बताए। 'धर्मशाला उद्घाटन गर्न मन्त्री सोनल आएका बेला मैले विरोध गरेको थिएँ',वडाध्यक्ष कलवारले भने,'मन्त्री सोनलले प्रहरी लगाएर मलाई थुन्न लगाए।'
गाउँपालिकाको बोर्डबाट कुनै निर्णय नै नगराई आफ्नो मनोमानी तरिकाले गाउँपालिका अध्यक्ष हरिनारयण साहले आफ्नो वडामा निर्माण भएको धर्मशालाको उदघाटन गराउन लगाएको वडाध्यक्ष कलवारको भनाई छ।
उनले विकाश निर्माणको काममा वडाध्यक्षलाई नै जानकारी नदिई जबरजस्ती गरिएकोले यसले आफ्नो मानमर्दन भएकाे भन्दै कानुनी उपचार खोज्ने चेतावनी दिए।
धर्मशाला निर्माणमा आर्थिक अनियमितता भएकाले त्यसको उचित छानबिन हुनुपर्ने वडाध्यक्ष कलवारले माग गरे।
धर्मशालाकाे उद्घाटन गर्दै मन्त्री जितेन्द्र साेनल।
धर्मशाला निर्माणको क्रममा भएको आर्थिक अनियमितताको बारेमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरीसमेत परेको बताउँदै वडाध्यक्ष कलवारले त्यसको छानबीन नै नगरि उदघाटन गरेर अनियमितता लुकाउन खोजिएको बताए।
गाउँपालिकाको ६२ लाख रुपैयाँको लागतमा वडा नम्बर ५ मा जानकी धर्मशाला निर्माण भएको छ। उक्त धर्मशालाको शनिबार प्रदेश नम्बर २ का भौतिक तथा पूर्वाधार विकास मन्त्री जितेन्द्र सोनलले उदघाटन गरेका थिए।
उदघाटनको क्रममा वडाध्यक्ष कलवार लगायतले विरोध जनाएपछि केही समय स्थिति तनावग्रस्त बनेको थियो।
मन्त्रीलाई वडाध्यक्ष लगायतले धर्मशाला उदघाटनमा गरेकाे अवरोधका बीच मन्त्री सोनलले उदघाटन गरेका थिए। सो क्रममा वडाध्यक्ष कलवारसहित ७ जनालाई प्रहरीले पक्राउ समेत गरेको थियो ।
प्रतिक्रिया