प्रदिप गौतम÷
बाराको सिमरामा भाद्र १ गते प्रदेश प्रदेशमा गाईजात्रा कार्यक्रम हुने भएको छ । बिगत लामो समयदेखि काठमाडौंमा मात्र सिमित रहेको गाईजात्रा यसबर्षदेखि सिमरासहित देशका बिभिन्न शहरमा हुन लागेको हो । गाईजात्राबारे जानकारी दिन आज आयोजकले बाराको सिमरामा पत्रकार सम्मेलनको आयोजना गरेको थियो । 'प्रदेश प्रदेशमा गाईजात्रा' कार्यक्रम साउन ३१ गतेदेखि प्रदेश नम्बर १ को बिराटनगरबाट शुरु हुदैछ । भाद्र १ गते सिमरामा हुने कार्यक्रमको तयारी तिब्र रुपमा भईरहेको आयोजकले जनाएको छ । होटल तथा पर्यटन व्यवसायी संघ बारा र सिमरा फाउण्डेशनको संयुक्त समन्वयमा सिमरामा हुन लागेको कार्यक्रम प्रदेशकै पहिलो गाईजात्रा हुनेछ । हास्य कलाकार मनोज गजुरेलको नेतृत्वमा ११ जना कलाकारले सिमरासहित सातवटै प्रदेशमा गाईजात्रा विशेष कार्यक्रम गर्ने भएका हुन् । ब्राण्डवर्थ प्रालिले आयोजना गर्न लागेको १० दिने 'प्रदेश प्रदेशमा गाईजात्रा' कार्यक्रम भब्य रुपमा गर्ने तयारी भईरहेको आयोजक होटल तथा पर्यटन व्यवसायी संघ बाराका अध्यक्ष मोहन शर्मा लामिछानेले जानकारी दिनुभयो । प्रदेशकै कार्यक्रम सिमरामा आयोजना गर्न लागिएको हुदा आफूहरु उत्साहित भएर कार्यक्रमको तयारीमा लागेको लामिछानेले बताउनुभयो । पर्यटकीय एवं औद्योगिक नगरीको रुपमा विकास भईरहेको सिमरामा हुन लागेको यस कार्यक्रमको निकै महत्व रहेको सिमरा फाउण्डेशनका अध्यक्ष आरिफ हुनसेले जानकारी दिनुभयो । कार्यक्रम सिमराको रोयल ईभेन्ट मेनेजमेन्ट भेन्यु हुदैछ । कार्यक्रमका लागि एक हजार पाच सय र एक हजार गरी दुई किसिमको टिकट दर तय गरिएको छ । कार्यक्रममा कलाकार गजुरेलसहित शैलेन्द्र सिंखडा, सुरेन्द्री केसी (मुला साग), शिवशंकर रिजाल (जोगिन्दर पानवाला), रवी डंगोल, यमन श्रेष्ठ, सुवोध गौतम, पूर्ण थापा, सन्ध्या बुढा (काउली बुढी) सुमन कार्की र रुविना अधिकारीले आफ्नो प्रस्तुती देखाउनेछन् । अध्यक्षद्धय मोहन शर्मा र आरिफ हुसेनको अध्यक्षतामा सम्पन्न पत्रकार सम्मेलनको सञ्चालन प्रदिप गौतमले गर्नुभएको थियो । कार्यक्रममा पत्रकार महासंघ प्रदेश नम्बर २ का सचिव गुरुप्रसाद गौतम लगायतको उपस्थिति रहेको थियो ।
प्रतिक्रिया