वीरगन्ज-बारा र पर्साका हावाहुरीपीडितलाई निर्माण गरिदिएको घर निर्माणको काम ७२ प्रतिशत सम्पन्न भएको नेपाली सेनाले जनाएको छ । बिहिबार वीरगन्जमा पत्रकार सम्मेलन अयोजना गरेर जनता आवास निर्माण कार्यदलमा खटिएको नेपाली सेनाले विभिन्न चुनौती र समस्याहरुकाबीच पनि निर्माण कार्य भइरहेको र भदौको दोश्रो हप्ता सबै घर निर्माण सम्पन्न गरि हस्तान्तरण गर्ने तयारी रहेको बताएको छ ।
चैत १७ आएको विनाशकारी टोर्नाडो हुण्डरीले उडाएर घरबार विहिन भएका प्रभावित परिवारहरुले वर्षा सकिएपछि मात्र सरकारले नेपाली सेनामार्फत बनाइदिएको नयाँ घरमा बस्न पाउने भएका छन् । गएको वैशाख २१ गते संघ र प्रदेश सरकारका मन्त्रीहरुले शिलान्यास गरेर असारभित्रै निर्माण सम्पन्न गरेर वर्षाअघि नै प्रभावित परिवारलाई घर हस्तान्तरण गर्ने घोषणा गरेको भएपनि साउन दोश्रो साता बितिसक्दा समेत ७२ प्रतिशत मात्रै कार्य प्रगति भएको सेनाले जनाएको छ ।
२८ नम्बर बाहिनीका बाहिनीपति एवं नेपाली सेनाको जनता आवास निर्माण कार्यदल बारा पर्साका कमाण्डर सहायक रथी विनय विक्रम राणाले मौसमको प्रतिकूलता, निर्माण गर्नुपर्ने घरको संख्याका बारेमा स्थानीयको विवाद, निर्माण सामग्रीको ढुवानीमा भएको अवरोध लगायतका समस्याका कारण तोकिएको समयमा सम्पन्न हुन नसक्दा ढिलाइ भएको बताए । सहायक रथी राणाका अनुसार चार महिनादेखि अस्थायी टेण्ट र त्रिपालमा ओत लागेर बसेका प्रभावित परिवारहरुले अब भदौको दोश्रो साता पछिमात्र घर पाउने भएका छन् ।
पत्रकार सम्मेलनमा सेनाका उच्च अधिकारीहरुले भदौको दोश्रो सातापछि मात्रै नवनिर्मित घरहरु प्रभावित परिवारलाइ औपचारिक रुपमा हस्तान्तरण गर्ने तयारी रहेको जानकारी दिए । नेपाल सरकारले अध्यावधिक गरि पठाएको पछिल्लो सूची अनुसार बारामा ८ सय १९ र पर्सामा ६२ गरि कुल ८ सय ८१ घरको निर्माण कार्य सेनाले गरिरहेको भन्दै राणाले साउन १५ गते सम्म ७२ प्रतिशत घर निर्माण कार्यको प्रगति भएको बताए । पर्सामा पूर्ण रुपमा क्षति भएका सबै ६२ परिवारका लागि घरको निर्माण कार्य सम्पन्न भएको र अब हस्तान्तरण गर्न मात्र बाँकी रहेको जानकारी पत्रकार सम्मेलना दिइएको थियो ।
हावाहुरी प्रभावितहरुका लागि नेपाल सरकारले दिएको बजेट भन्दा कम लागतमै घरको निर्माण गरिएको नेपाली सेनाले जनाएको छ । सहायकरथी राणाका अनुसार प्रति परिवारको आवासका लागि सरकारले ५ लाख ४५ हजार ९ सय ८५ रुपैयाँका दरले रकम निकासा गरेर पठाएको थियो । तर, सेनाले भने खर्चमा मितव्ययिता अपनाएर ४ लाख ८४ हजार ८ सय ८८ रुपैयाँमा घर निर्माण गरिरहेको प्रति घरको लागतमा ६१ हजार ९७ रुपैयाँ बचत भएको सेनानी महेन्द्र सिजापति थापाले जानकारी दिए । कूल ८ सय ८१ घरको लागि सेनालाई प्राप्त भएको बजेटबाट बचत भएको ५ करोड ३८ लाख २६ हजार ४ सय ५७ रुपैयाँ सरकारलाई फिर्ता पनि गरिएको पत्रकार सम्मेलनमा जानकारी दिईएको थियो ।
सरकारले दिएकै डिजाइन र गुणस्तरमा घरको निर्माण गरिएको भन्दै सेना आफैंले सबै काम गरेकाले अनुमान गरेको लागत भन्दा पनि कम खर्चमा काम भएको बताइएको छ । प्रभावितहरुका लागि निर्माण भइरहेको घर, भूकम्प र हुरी वतास प्रतिरोधी, वातावरणमैत्री, सजिलै आगो लाग्न नसक्ने, अविरल वर्षाले पनि असर नपार्ने र ५० वर्ष सम्म टिकाउ हुने थापाले जानकारी दिए । बारा र पर्सामा हावाहुरीबाट क्षति पुगेका १ हजार ४ सय ५३ घर निर्माणका लागि चालूतर्फ २ अर्ब ४९ करोड ८५ लाख ७९ हजार ७ सय, पूँजीगततर्फ ८२ करोड १८ लाख ९० हजार ३ सय ४३ रकम निकासा भएको र निर्माणमा खटिएका नेपाली सेनाहरुलाई प्रोत्साहन स्वरुप भत्ता वितरण गर्न र अन्य शीर्षकमा २ करोड ६० लाख विनियोजन गरिएको जानकारी दिएको छ ।
प्रतिक्रिया