सुजीतकुमार झा
जनकपुरधाम । जानकी जन्मोत्सव मनाउनका लागि प्रदेश २ सरकारले जानकी मन्दिरलाई दिएको दस लाख रुपैया मध्ये दुई लाख रुपैयाँ पानी खुवाएरै सकिएको छ । अब मन्दिरले १३ प्रतिशत भ्याट र डेढ प्रतिशत आन्तरिक कर कटाएर ७ लाख मात्रै पाउने भएको छ ।
प्रदेश २ सरकारले जानकी नवमीका लागि छुट्याएको बजेट उद्योग वन, पर्यटन मन्त्रालयको जिम्मा लगाएको थियो । प्रदेश सरकारले तोकेको दस लाख रुपैंया लिन पर्यटन मन्त्रालयमा पुगेका जानकी मन्दिरका उत्तराधिकारी महन्थ रामरोशन दास वैष्णवले सात लाखको मात्र चेक थमाएको वताए । सहयोग राशी दस लाखको थियो तीन लाख कुन शिर्षकमा खर्च भयो भनेर प्रश्न गर्दा मन्त्रालयका कर्मचारीले तीन लाख पानी र फ्रुटी बाडनमा खर्च भएको जवाफ दिएको महन्थ दासले वताए ।
धर्म र आस्थाका नाममा आएको वजेटमा पनि दुरुपयोग गरिएकोले अहिले सम्म चेक सम्म नवुझेको महन्थ दासले जानकारी दिए । मन्त्रालयका अधिकारीहरुले प्रदेश सरकारले जानकी नवमीका लागि दसलाख छुटयाएको स्वीकार गर्दै मन्दिरका लागि आएको कुल वजेटमा प्रदेश सरकारले दुइ लाख बराबरको पानी र फ्रुटी बांडेकोले जानकारी दिए । एक अधिकारीले नाम नछाप्ने सर्तमा भने 'दुई लाख पानी र फ्रुटी बाँड्दा दुई लाख सकियो, आठ लाखमा १३ प्रतिसत भ्याट र डेढ प्रतिसत आन्तरिक भ्याट कटटा गर्दा सात लाख जति रकम मन्दिरलाई भुक्तानी दिइएको छ ।'
पर्यटन राज्यमन्त्री सुरेश मण्डलले प्रदेश सरकारले गरेको खर्च रकमलाई अन्य शिर्षकबाट मिलाउन सकिने बताए । प्रदेश सरकारले रकम कटौती गरेपछि नवमी मनाउन समस्या भएको दासले बताए ।
प्रतिक्रिया