जनकपुरधाम, साउन १३ । प्रदेश नं. २ मा भीषण वर्षा र बाढीका कारण भएको क्षति बारे जानकारी गराउदै सहयोग जुटाउने उद्देश्यले काडमाण्डौ पुगेको मुख्यमन्त्री लालबाबु राउत नेतृत्वको सर्वदलिय टोली आज उर्जा, जलस्रोत तथा सिचाई मन्त्री वर्षमान पुन संग छलफल गरेको छ ।
मन्त्रालयको सभाकक्षमा भएको छलफलमा मुख्यमन्त्री राउतले बाढीबाट भएको क्षति भयावह रहेकोले तत्कालिन र दीर्घकालिन योजना बनाएर तटबन्ध मर्मत तथा निर्माणमा सहयोग गर्न आग्रह गर्नु भएको छ ।
कटानका कारण नदीको पानि सोझै गाँउमा पसि रहेकोले त्यस्ता ठाँउहरुमा तत्काल मर्मतको काम गर्नु पर्ने बताउनु भयो । हाल मर्मत कार्यका सहयोग गर्न संघीय मन्त्री संग आग्रह गर्नु हुँदै उहाँले दीर्घकालिन रुपमा चुरे संरक्षण, चुरेमा भई रहेको अनियन्त्रित बसोवासको नियन्त्रण, नदीहरुमा पक्की तटबन्धको निर्माण सहितको योजना बनाउनु पर्ने बताउनु भयो ।
उहाँले दीर्घकालिन योजना अनुरुप कार्य नभए मधेश मरुभूमिमा परिणत हुने भएकाले संघीय मन्त्रालयलाई तत्काल यस विषयमा सोच्नु पर्ने आवश्यक समेत औल्याउनु भयो ।
छलफल उर्जा, जलस्रोत तथा सिचाई मन्त्री वर्षमान पुनले आवश्यक रकम अर्थमन्त्रालय संग मांग गरेर तत्काल गर्न सकिने कामहरु अघि बढाउने प्रतिवद्धता व्यक्त गर्नुु भएको मुख्यमन्त्री राउतले बताउनु भएको छ।
छलफलमा भौतिक पूर्वाधार विकास मन्त्री जितेन्द्र सोनल, आन्तरिक मामिला तथा कानून मन्त्री ज्ञानेन्द्र यादव, नेकपा संसदीय दलका नेता सत्यनारायण मण्डल, राजपा संसदीय दलका सचेतक परमेश्वर साह, उर्जा, जलस्रोत तथा सिचाई मन्त्रालयका सचिवका साथै प्राविधिक टोलीको समेत सहभागिता रहेको थियो ।
प्रतिक्रिया