वीरगंज २ असार सोमबार गत चैत १७ गते बारा पर्सामा आएको विनाशकारी हावाहुरीमा घरवारबिहीन बनेका पीडितहरुले फेटा गाउँपालिकाको कार्यालय घेराउ गरेका छन्। वडा नं. १ भलुही भरवलियाका करिब २ सय जना स्थानीय हातमा कुचो लिएर प्रदर्शनमा उत्रिएका हुन्।
पीडितहरुको घर बनाउने काममा चरम लापारवाही भएकाले गाउँपालिकाको कार्यालय घेराउ गर्न बाध्य हुनु परेको ६० वर्षीय सोनवा कनुइनले बताइन्। गाउँपालिकाले चरम वेवास्ताको कारण आफूहरुको जीवन झन् कष्टकर बन्दै गएको उनीहरूकाे भनाइ छ। भरवलियाका वैजनाथ प्रसाद कुर्मीका अनुसार चार सय घर पूर्ण क्षतिग्रस्त भएको १ नं वडामा नेपाली सेनाले जम्मा ७० घर निर्माण गरिरहेको छ।
विपदको वेला गाउँलेहरु मृतकको दाहसंस्कार तथा अस्पतालमा रहेको बेला तथ्यांक सङ्कलन गर्ने जिल्ला विपद् व्यवस्थापन समितिले हचुवाको भरमा तथ्यांक सङ्कलन गरेको भरवलियाका बासिन्दा तथा नेपाली कांग्रेस महाधिवेशन प्रतिनिधि जयनारायण पटेलले बताए। यस विषयमा गाउपालिका अध्यक्ष अमिरी प्रसादसँग कुरा गर्न खोज्दा उनले अवस्था तनावपूर्ण रहेकाले केहीबेरमा कुरा गरी घर निर्माणमा भएको कमीकमजोरीको विषयमा जानकारी गराउने बताए।
प्रतिक्रिया