सिमरा ०२ असार: चार दशकदेखि जीर्ण भवनबाट सुरक्षा प्रदान गर्दै आएको सिमरास्थित इलाका प्रहरी कार्यालयको नयाँ भवन बन्ने भएको छ। बाराका प्रहरी उपरीक्षक सानुराम भट्टराईले सोमबार बिहान एक कार्यक्रमकाबीच नयाँ भवनको शिलान्यास गरेका छन्। करिब ६ करोड १८ लाखको लागतमा बन्न लागेको भवनको निर्माण कार्य एक वर्षमा सम्पन्न हुने बताइएको छ।
डिपार्टमेन्ट फर इन्टरनेसनल डेभलेपमेन्ट (डिएफआईडी) युकेको आर्थिक सहयोग र युनाइटेड नेशन्स अफिस प्रोपोज सर्भिसको परामर्शमा भवन बन्न लागेको हो। स्थानीयस्तरबाट उपलब्ध जग्गामा बन्न लागेको भवन आधुनिक हुने इलाका प्रहरी कार्यालय सिमराका प्रहरी नायब उपरीक्षक गोविन्द पुरीले बताए।
पुरीका अनुसार अढाई तल्ले प्रशासनिक साढे तीन तल्ले आवास निर्माण हुने लागेको हो।भवन निर्माणको जिम्मा काठमाडौंको लामा कन्ट्रक्सनले गर्ने भएको छ। लामो समयदेखि सानो र साँघुरो भवनबाट सेवा प्रदान गर्नुपर्दा समस्या भइरहेकाले आधुनिक भवन निर्माणपछि सेवा प्रदान गर्न अझ सहज हुने प्रनाउ पुरीले बताए।
आवश्यक जनशक्ति र पूर्वाधार अभावकाबीच इलाका प्रहरी कार्यालय सिमराले औद्योगिक करिडोरसहित ठूलो क्षेत्रमा सुरक्षा प्रदान गर्दै आएको छ। सिमरा बिमानस्थलबाट आवतजावत गर्ने भिआईपीलाई समेत इप्रका सिमराले सुरक्षा दिइरहेको छ। सिमरा सहरी क्षेत्रको रुपमा विकास हुँदै गएपछि प्रहरीमाथि सुरक्षा चुनौती पनि थपिदै गएको छ।
यसअघि स्थानीयको अनुरोधमा २०२९ सालभन्दा अघि प्रहरी हवल्दारको कमाण्डमा सिमरामा प्रहरी थाना स्थापना भएको थियो। सोही स्थानमा जनशक्तिअनुसार पूर्वाधार थप्दै जाने क्रममा २०३४ सालमा सिमरामा प्रहरी निरीक्षकको कमाण्डमा इलाका प्रहरी कार्यालय स्थापना गरिएको थियो। इप्रका बनाइए पनि आवश्यक पूर्वाधार भने थिएन। लामो समय पुरानो भवनबाटै सेवा प्रदान गर्दै आएको इप्रकाले चार दशकपछि नयाँ भवन निर्माण गर्न लागेको हो।
प्रतिक्रिया