वीरगञ्ज, ७ जेष्ठ÷
अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त नवीनकुमार घिमिरेले भ्रष्टाचार र भ्रष्टाचारीप्रति अख्तियार निर्मम भएर प्रस्तुत हुने बताउनु भएको छ । उहाँले अख्तियारले मुलुकका १ हजार ८ सय ४८ रुग्ण ठेक्काको विश्लेष्ण गरिरहेकोमा झण्डै १ खर्ब १२ अर्ब पूँजी निर्माण कार्यमा रहेको र २४ अर्ब रुपैयाँ त ठेकेदारको हातमा रहेको बताउनु भएको थियो । ठेक्का लिने र काम समयमा नगर्ने बढ्दो प्रवृत्ति नियन्त्रण गर्न हाम्रो प्रयास केन्द्रित रहेको बताउनुभयो ।
सार्वजनिक जग्गा अतिक्रमण गरी व्यक्तिको नाममा दर्ता गर्नेहरु अख्तियारको अनुसन्धान प्रक्रियामा रहेका छन् । ललिता निवासको बहुचर्चित घटनाप्रति अख्तियार निर्मम भएर प्रस्तुत हुने बताउँदै यो मुलुकलाई ठग्ने, भ्रष्टाचार गरेर अकूत सम्पत्ति कमाउने जोसुकै, जस्तो सुकै ठूलो मान्छे भए पनि हामी कानून बमोजिम त्यस्ता व्यक्ति, संस्थालाई कानूनी कारवाही गर्न कुनै कसर छोड्दैनौं, साथै उहाँले वीरगञ्जमा पनि केही सार्वजनिक जग्गाको विषय अख्तियारको चासोमा रहेको खुलासा समेत गर्नु भएको थियो ।
वीरगञ्जले आफूलाई सधैं माया गरेको र वीरगञ्ज उद्योग वाणिज्य सङ्घका लागि आफ्नो ढोका सधैं खुला रहेको बताउनु भएको थियो । आफू पर्साका प्रजिअ भएका बखतको संस्मरण गर्दै तात्कालीक समयमा वीउवासङ्घको सहकार्य र यहाँका निजी क्षेत्रबाट प्राप्त सद्भाव र सुझावको सराह्ना समेत गर्नु भएको थियो ।
वीउवासङ्घको आयोजनामा उहाँको सम्मानमा आयोजित स्वागत तथा भेटघाट कार्यक्रममा प्रमुख अतिथि श्री नवीनकुमार घिमिरेले उक्त विचार व्यक्त गर्नु भएको थियो ।
यस अघि सङ्घका का.वा. अध्यक्ष सुबोधकुमार गुप्ताले स्वागत मन्तव्य दिँदै नेपालको सरकारी कर्मचारीहरुको ठूलो जमातमा श्रीमान् घिमिरे एउटा पृथक र मौलिक पहिचान भएका व्यक्तित्वका रुपमा सङ्घले अनुभूत गरेको बताउँदै उहाँले आफ्नो जीवनकालमा विभिन्न सरकारी कार्यालयहरुमा जिम्मेवार पदमा रही निर्वहन गर्नु भएको भूमिका आजका युवा जमातका लागि पनि अनुकरणीय हुने धारणा प्रस्तुत गरेका थिए ।
कार्यक्रममा वीउवासङ्घका निवर्तमान अध्यक्ष माननीय ओमप्रकाश शर्मा, उपाध्यक्ष सुनिलकुमार खेतान, सचिव मनोज दास, पूर्व अध्यक्ष बाबुलाल अग्रवाल, गणेश प्रसाद लाठ, अशोककुमार टेमानी, अशोककुमार वैध, कार्यसमिति सदस्य हरि गौतम, प्रकाश खण्डेलवाल लगायतले आ–आफ्नो धारणा राख्नु भएको थियो ।
सङ्घका उपाध्यक्ष अनिलकुमार अग्रवालले धन्यवाद मन्तव्य राखेको उक्त कार्यक्रममा अख्तियार सचिव महेश्वर न्यौपाने, सह–सचिव कालीप्रसाद पराजुली, पर्सा प्रजिअ नारायणप्रसाद भट्टराई, प्रहरी उपरीक्षक रेवती ढकाल, सशस्त्र प्रहरी उपरीक्षक प्रेम ध्वज शाह, सङ्घका पदाधिकारी, कार्यसमिति सदस्य, सल्लाहकारहरुको उपस्थिति रहेको थियो । सो कार्यक्रमको सहजीकरण वीउवासङ्घका मनोज उपाध्यायले गर्नु भएको थियो ।
प्रतिक्रिया