बाराका प्रहरी उपरीक्षक (एसपी) सानुराम भट्टराईले गुण्डागर्दी र अपराधिक गतिविधि नियन्त्रणमा अवरोध गर्नेविरुद्ध कठोर रुपमा प्रस्तुत हुने चेतावनी दिएका छन् । प्रहरीले कानुनले दिएको अधिकार प्रयोग गर्ने बताउँदै उनले बारामा पछिल्लो समय प्रहरीविरुद्ध गुण्डा, तस्कर संगठित रुपमा लागिरहेको बताए ।
एसपी भट्टराईले भने, ''हामी कानुनका रक्षक हौं । राज्यले दिएको जिम्मेवारी इमान्दारीपूर्वक गर्छौ । तर गुण्डा, अपराधी र तस्करसँग झुक्ने कुरा हुँदैन ।'' एसपी भट्टराईले कलैया उपमहानगरपालिका–१ का सञ्जय साहले प्रहरी निरीक्षक (इन्स्पेक्टर) निशान्त श्रीवास्तव र प्रहरीकै चालकमाथि हातपात गरेको बताए । शुक्रबार राति भारतमा चलिरहेको आईपीएल क्रिकेट म्याचमा सट्टेबाजी भइरहेको सूचनाका आधारमा १४ जना पक्राउ परेका थिए । एसपी भट्टराईका अनुसार पक्राउ परेकामध्ये १० जनाको प्रमाण नपुगेकाले छाडिएको छ र अन्य तीन जनाको मोबाइलमा रकम सट्टेबाजीको म्यासेज भएकाले मुद्दा चलाइएको छ ।
प्रहरीले छापा हान्ने क्रममा सोही समूहमा रहेका सञ्जय साहलाई मोबाइल माग्दा नदिएपछि आवश्यक अनुसन्धाका लागि प्रहरी कार्यालय लैजाँदै गर्दा प्रहरी निरीक्षकमाथि हातपात गरेको भट्टराईले बताए । उनले भने, ''पक्राउ परेपछि सञ्जयलगायत सबैलाई स्वास्थ्य परीक्षणका लागि अस्पताल लैजाँदा उनले प्रहरीकै चालकमाथि कुटपिट गरे । पाँच मिनेटसम्म चालक रन्थनिए ।'' भट्टराईले व्यावसायिकताका साथ ड्युटीमा रहेका प्रहरीमाथि हातपात गर्नेलाई अभद्र व्यवहार गरेको आरोपमा मुद्दा चलाइएको बताए । शुक्रबार पक्राउ परेकामध्ये हरेराम साह, दरोगा अन्सारी र राकेश साहलाई जुवा ऐन अन्तर्गत कारवाही प्रक्रिया अगाडि बढाइएको छ । उनीहरुको साथबाट क्रिकेट म्याचमा बाजी लगाएको ९४ हजार रकम समेत बरामद भएको छ ।
प्रतिक्रिया