भारततबाट इन्धन ल्याउने 'मोतिहारी – अमलेखगञ्ज पेट्रोलियम पाइपलाइन आयाेजना' अन्तर्गत ६७.७ किलोमिटर पाइप विछ्याउने काम सकिएकाे छ ।
आयाेजनाकाे ७०.२ किलोमिटर मध्ये ६७.७ किलोमिटरसम्म पाइप विछ्याउने काम सम्पन्न भएको हाे । पाइप विछ्यान अब २.५ किलाेमिटर मात्र बाँकी रहेकाे नेपाल आयल निगमले जनाएकाे छ ।
पाइप बिछ्याउने क्षेत्रमा करीब नौ किलोमिटर पर्सा राष्ट्रिय निकुञ्ज पर्ने भएकाले सो क्षेत्रमा पाइप विछ्याउन ढिला भएको छ ।
सो क्षेत्रमा छ हजार ५०० ठूलासाना रुख काटिसकिएको र रुखको जरा उखेल्ने काम धमाधम भइरहेको पेट्रोलियम पाइपलाइन विस्तार आयोजना सिमराका इञ्जिनीयर शरद पौडेलले बताए ।
"काटिएका रुखको जरा उखेल्न समस्या भए पनि सो काम तीव्रगतिमा भइरहेको छ ", उनले भने ।
पाइपलाइन विस्तार गर्ने क्रममा निकुञ्ज क्षेत्रभित्र काटिएको रुख भएको ठाउँमा पुनः वृक्षरोपण गर्न नेपाल आयल निगमले निकुञ्जलाई पाँच वर्षसम्मका लागि एक लाख ४७ हजार २०० रुख रोप्न रु एक करोड ३९ लाख ६७ हजार ५२ क्षतिपूर्ति दिएको सहायक संरक्षण अधिकृत अशोककुमार रामले बताए ।
नेपालको 'लाइफ लाइन'को रूपमा रहेको उक्त परियाेजनाकाे अब जमीनमुनि पाइप बिच्छ्याएपछि बाँकी रहेका प्रक्रिया पूरा गरिने निगमले जनाएकाे छ ।
२०७४ चैतको अन्तिम साता भारत भ्रमणको क्रममा प्रधानमन्त्री केपी शर्मा ओली तथा समकक्षी भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नयाँदिल्लीको हैदरावाद हाउसबाट संयुक्तरूपमा मोतिहारी अमलेखगञ्ज पेट्रोलियम पाइप लाइनको शिलान्यास गरेका थिए ।
रु २७५ करोडको लागतमा निर्माण हुन लागेको उक्त परियोजनामा भारत सरकारको रु २०० करोड तथा नेपाल सरकारको रु ७५ करोड लगानी रहेको छ।
जमीनमुनि साढे दुई मिटर तल पौने ११ इन्चको माइल स्टिल भन्ने कालो रङ्गको पाइप राखिएकाे छ ।
यो परियोजना सञ्चालमा आएपछि नेपाल–भारतको रक्सौल नाकामा देखिने जामको समस्या हटनुका साथै पेट्रोलियम पदार्थमा हुने चोरी तथा अनियमितता हटेर जाने विश्वास गरिएको छ ।
प्रतिक्रिया