वीरगंज, २३ वैशाख । प्रदेश नम्बर २ मा चालु आर्थिक वर्षको साउनदेखि यही बैशाख २१ गतेसम्म भएका ९ सय ४८ सवारी दुर्घटनामा ३ सय ४५ जनाको ज्यान गइसकेको छ। मृत्यु हुनेमा पुरूष २ सय ४३ जना, महिला ५५ जना, र बालबालिका ४७ जना रहेका छन।
ती दुर्घटनाहरूमा ४ सय ६८ गम्भीर र ३ सय ३३ सामान्य घाइते भएका छन।
चालकले सवारी साधन चलाउँदा मोबाइलमा गफ गर्ने, सिटको बेल्ट नबाँध्ने, हेल्मेट नलगाउने, क्षमताभन्दा बढी यात्री बोक्ने, ओभरटेक गर्ने र सही तरिकाले सवारी साधन नकुदाउने जस्ता कारणले पनि ७० प्रतिशत भन्दा बढी सवारी दुर्घटना हुने गरेको प्रदेश नम्बर २ ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता प्रहरी निरीक्षक रिपेन्द्र सिंहले बताए।
व्यस्त सडकमा तीव्र गतिमा सवारी चलाउनाले दुर्घटना बढेको ट्राफिक प्रहरीको भनाइ छ।
मादक पदार्थ सेवनदेखि लिएर सवारी चालक अनुमति पत्रसमेत नलिइ सवारी चलाउँदा अधिकांश दुर्घटना हुने गरेको उनले बताए।
दुर्घटना न्युनीकरणका लागि ट्राफिक प्रहरीले दिनहुँजसो चेकजाँचमा समेत कडाइ गरिरहेको जनाएको छ।
त्यस्तै विभिन्न संघसंस्थाहरूसँगको सहकार्यमा चालक, अभिभावक तथा विद्यालय र कलेजका विद्यार्थीहरूको आँखा जाँच गर्नुका साथै ट्राफिक नियमवारे जनचेतना जगाउने कार्यक्रम सञ्चालन गरेको प्रदेश ट्राफिक प्रमुख प्रहरी उपरीक्षक योगबहादुर पालले बताए।
यसका साथै ट्राफिक सम्बन्धी एपको व्यवस्था गरेको जनाएको छ।
उक्त एपले लामो दुरीको सवारी चालकवारे जानकारी पठाउने हुँदा चेकजाँच गर्न सजिलो हुने बताइएको छ।
प्रतिक्रिया