जनकपुरधाम, बैशाख ३१ । मुख्यमन्त्री लालबाबु राउतले सेवा प्रवाहको झन्झटिलो प्रक्रियाले भ्रष्टाचार संस्थागत हँुदै गएको टिप्पणी गर्नु भएको छ ।
उच्च स्तरीय प्रशासन सुधार कार्यान्वयन तथा अनुगमन समितिको आयोजनामा जनकपुरमा सम्पन्न प्रशासकीय न्याय, साकारात्मक सोच र सेवा विषयक अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्नु हुँदै मुख्यमन्त्री राउतले सो टिप्पणी गर्नु भएको हो ।
उहाँले सेवाग्राहीहरु झन्झटिलो प्रक्रियालाई थेग्न नसकेपछि घुस दिएर काम गराउने गरेको भएकाले सेवा प्रवाहको प्रक्रियालाई जनमुखी र व्यवहारिक बनाउनु पर्ने बताउनु भयो ।
मुख्यमन्त्री राउतले भ्रष्टाचारको अन्त्यको शुरुवात माथि बाटै हुनु पर्ने उल्लेख गर्दै भन्नु भयो 'भ्रष्टाचार अन्त्यको शुरुवात आफै बाट गरिनु पर्दछ , त्यो पनि माथिल्लो निकायबाट । अनि मात्र भ्रष्टाचार नियन्त्रण गर्न सकिन्छ ।'
नियम र कानून बनाएर भ्रष्टाचार अन्त्य गर्न नसकिने दावी गर्नु हुँदै उहाँले यसका लागि आफ्नै छातीमा हाथ राखेर अघि बढनु पर्ने उल्लेख गर्नु भयो ।
नियम कानुन मिचेर गरिएको कर्मचारी समायोजनले प्रदेश र स्थानीय तहमा आएको कर्मचारीहरुमा आतंक सृजना गर्ने कार्य गरेको उहाँले दावी समेत गर्नु भयो ।
जनकपुर उच्च अदालतका मुख्यन्यायधिश हरि पोखरेलको अध्यक्षतामा भएको उक्त अन्तरक्रिया कार्यक्रममा मधेशी आयोगका अध्यक्ष डा. विजय दत्त, उच्च स्तरीय प्रशासन सुधार कार्यान्वयन तथा अनुगमन समितिका अध्यक्ष काशिराज दहाल, प्रदेश सभा सदस्य, प्रमुख जिल्ला अधिकारी प्रदिप कनेल सहितले सम्बोधन गर्नु भएको थियो ।
प्रतिक्रिया