गएको आइतबार साँझ सवा सात बजे आएको असिना–पानीसहितको भूमरीले क्षतविक्षत तुल्याएको बारामा मंगलबार बिहान आँधीसहितको वर्षा भएको छ ।
आँधी प्रभावित ठाउँमा ठूलो असिनापानीसहित हावाहुरी चलेको फेटा गाउँपालिकाका अध्यक्ष अमरीलाल प्रसादले जानकारी दिए । "आज (मंगलबार) आएको हावाहुरीले गाउँपालिकाभित्रका आँधीपीडितलाई पुनः समस्यामा पारेको छ । केहीको त्रिपाल उडाएको छ," अमरीलालले बाह्रखरीसँग भने, "आँधीपीडित बस्तीमा झन् संकट थपिएको छ ।"
उनका अनुसार गाउँपालिकामा अहिले पनि वर्षा भइरहेको छ । पानी र वर्षाले त्रिपालमुनि ओत लागिरहेका पीडितहरू त्रासमा छन् ।
सिमरामा आधा घन्टा असिनापानी
मंगलबार परेको असिनापानीले जीतपुर सीमरा उपमहानगर पनि प्रभावित बनेको छ । हावाहुरीसहितको असिनापानीले उपमहानगरको रामवनमा घरका छाना उठाउनुका साथै केही कच्ची घर भत्किएको खबर आएको उपप्रमुख सरस्वती देवी चौधरीले जानकारी दिइन् ।
"आधा घन्टा परेको असिनापानीले केही घर भत्काएको सुनेका छौँ । मेयर फिल्डमा जानुभएको छ । सबैतिरको रिपोर्ट आएपछि मात्रै क्षतिबारे भन्न सकिन्छ," उनले भनिन् ।
गएको आइतबारको विनासकारी भूमरीले बारामा २८ जनाको ज्यान गएको थियो । मंगलबार पनि हावाहुरी आएपछि बाराबासी त्रासमा छन् ।
प्रतिक्रिया