वीरगंज, ४ वैशाख । जन्मको आधारमा नेपालको नागरिकता प्राप्त गरेका आमा र बाबुका सन्तानलाई वंशजको नागरिकता दिन सर्वोच्च अदालतले मंगलबार फैसला गरेपछि आज नागरिकता लिन जिल्ला प्रशासन कार्यालय, पर्सामा बिहानैदेखि घुइँचो लागेको छ ।
जिल्ला प्रशासन कार्यालयको मूलगेट खुल्नु अगावैदेखि बाहिर सेवाग्राही लामबद्ध भएका छन् । विसं २०६३ मा जन्मको आधारमा नेपाली नागरिकता पाएका आमा र बुबाको सन्तानले लामो अवधिसम्म नागरिकता पाउन सकेका थिएनन् । तर गृह मन्त्रालयले गत चैत १९ गते सबै जिल्ला प्रशासन कार्यालयलाई वंशजको आधारमा नागरिकता वितरण गर्नु भनी परिपत्र गरेको थियो ।
तीन दिनसम्म नागरिकता वितरण भएलगत्तै गृहको परिपत्र विरूद्ध मुद्दा परेपछि सर्वोच्च अदालतले सो प्रकृतिका नागरिकता वितरण नगर्न अन्तरिम आदेश जारी गरेको थियो । सर्वोच्चले मङ्गलबार सोही विषयमा अर्को आदेश जारी गरी गृह मन्त्रालयको परिपत्र बमोजिम नै नागरिकता दिन मिल्ने आदेश गरेको हो ।
टाढाबाट धाएर वंशजको आधारमा नागरिकता लिन प्रशासनको गेटबाहिर बिहानैदेखि ग्रामीणवासी लाइनमा बसेका छन् । नागरिकता वितरण फुकुवा भएको खबर सुनेर आएको ग्रामीणबासीले बताए । सर्वोच्च अदालतले सदर गरिसकेको हुँदा गृहमन्त्रालयको परिपत्र बमोजिम आवश्यक प्रक्रिया पूरा गरेर नागरिकता वितरण गरिने जिल्ला प्रशासन स्रोतले जनाएको छ ।
प्रतिक्रिया