वीरगंज, २० चैत । आँधी प्रभावित फेटा गाउँपालिका–२ भरवलियाका सिकन्दर रामको भान्सामा खाना तयार भएकोमात्रै थियो । जमिन धवर–धवर गर्न थाल्यो, एकै मिनेटमा पस्कन लागेको दाल–भात मात्रै पुरिएन, घरको छानो पनि हुरीले उडायो ।
आइतवार साँझको विनाशकारी हुरी सम्झँदै सिकेन्दर भन्छन्, 'बाहिर निस्कँदा देखेँ आमालाई इट्टाले लागेछ, छिनभरमै उहाँ बित्नुभो ।'
विनाशकारी आँधी आएपछि बरियोदेवी राम घरभित्र पस्न खोजेकी थिइन, छिमेकीको घर ढल्दा आएको ईट्टा उनको टाउकोमा बजारियो । सिकन्दरको कच्ची घर थियो, नजिकैको छिमेकीको पक्की घरको छत खसेर खेतमा बजारियो ।
'भित्र बसिरहेको थिएँ, थर्किएको आवाज आयो अनि छिनभरमै सबै उडायो,' सिकन्दर कहालीलाग्दो उक्त क्षणको स्मरण गर्छन, 'अब न गाँस–बास छ, न आमा छिन् ।'
आँधीका कारण सिकन्दर आफैं पनि घाइते भए । ६ दाजुभाइसहित ३० जनाको उनको परिवार अहिले छाना र मानाको खोजीमा छ ।
सिकन्दरकी आमा मात्रै होइन, भरवलियाको दलित बस्तीमा आँधीबाट दुईजनाको ज्यान गएको छ ।
भरवलियास्थित राजेन्द्र पटेलको घरमा पुग्दा जो–कसैका आँखा रसाउँछन् । पक्की घर ढलेर खेतको गह्रोमा पल्टिएको छ । घरकै डोवमा राजेन्द्र पटेल आमाको काजक्रिया गर्दै थिए । टाउकोमा सेतो कफन बेरेर बसेका राजेन्द्र मुटुमाथि ढुंगा राखेर भन्दै थिए, 'भाउजु र मेरी श्रीमती अस्पतालमा छन्, घरवार सबै एकै मिनेटमा सिद्धियो ।'
आँधीका कारण राजेन्द्रका आमा मनोरमा देवीको मृत्यु भएको थियो । उनकी श्रीमती र भाउजु घाइते छन् । अहिले उनीहरूको बिरगञ्जस्थित मेडिकल कलेजमा उपचार भईरहेको छ । लाला–बालासहित १० जनाको पटेल परिवार स्थायी छाना र भरपर्दाे राहतको अभावमा भौतारीरहेको छ ।
प्रतिक्रिया