धनुषा- एकधुर जग्गामा सानो छाप्रो छ । ओत लाग्न छानामा खर, पराल र प्लास्टिकले जसोतसो टालटुल पारिएको छ । त्यही सानो झुपडीको बीचमा घाँसले छेकवार गरी तीनवटा ढोका ठडाइएको छ । ढोकादेखि भित्रसम्म गल्लीजस्तै खाली ठाउँ छ, जहाँ एउटा ढोकाकै अगाडि शौचालय देख्न सकिन्छ ।
झुपडीमा तीनवटा ढोका बनाइएको भए पनि भित्र भने सहजै बस्न सक्ने ठाउँ छैन । खुट्टा पसार्दा बस्न र सुत्न सक्ने अवस्था छैन । तर त्यही झुपडीभित्र खाने, लाउने, बस्ने सुत्ने सबै काम गर्नुपर्छ धनुषाको लक्ष्मीनिया गाउँपालिका–२ की पानोदेवी दास तत्माकी ३ छोराको परिवारलाई ।
खुट्टा तन्काएर बस्नसमेत नसकिने सानो झुपडी छोराहरु छुट्टिएपछि एकआपसमा बाँडफाँड समेत गरिसकेका छन् । त्यसैमा पानो देवी दासको भागमा परेको छ, सानो गल्लीजत्तिकै ठाउँ । त्यसमा भने ढोका लगाइएको छैन ।
पानोदेवीका जेठा छोरा श्रीचन्द्र दासका दुई छोरी, एक छोरा र श्रीमतीगरी पाँच जना सदस्य छन् । माहिलो छोरा चन्देश्वरका श्रीमती र एक छोरी गरी तीन जना तथा कान्छो छोरा विन्देश्वरका श्रीमती र एक छोरी गरी तीन जना छन् । पानोदेवीको तीन छोरा, तीन बुहारी र ५ जना नाति नातिना गरी १२ जना सदस्य त्यही सानो झुपडीमा कष्टपूर्ण गुजारा गर्दै आएका छन् ।
वर्षाको बेला झन् बिजोग हुन्छ । माथिबाट पानी चुहिन्छ, तल पानी पसेपछि उनीहरुलाई पाइला राख्ने समेत ठाउँ हुँदैन । तर पनि जेनतेन यसैमा गुजारा गर्ने गरेको पानोदेवी बताउनु हुन्छ ।
दुई वर्षअघि गाउँलाई खुला दिसामुक्त गर्न सबैको घरमा शौचालय निर्माण गर्ने क्रममा उहाँको घरमा पनि शौचालय निर्माण गरिएको थियो । छोराहरु छुट्टिँदा जेठो छोराको भागमा शौचालय पर्यो । त्यसपछि त्यो शौचालयमा शौच गर्ने कि बस्ने भन्ने कुनै उपाय लागेन । बाध्य भएर जेठो छोराले बस्नको लागि शौचालय नै पुर्नु परेको स्थानीय रामकरण दासको भनाइ छ । अहिले शौचालय पुरिएपछि पानोका परिवार चौरको खुला स्थानमा नै शौच गर्न जाने गरेका छन् ।
गरिबीको कारण गाउँका साहुहरुले ऋण नदिँदा पानोका तीन जना छोराहरु विदेश जानसमेत पाएका छैनन् । सबै छोराहरु गाउँमै दैनिक ज्याला मजदुरीमा काम गर्ने गरेका छन् । विदेश जान पाएको भए परिवारको आर्थिक अवस्था सुधार हुने र जग्गा किनेर घर ठड्याउन पाइने उनीहरुको आशा थियो । तर ऋण नपाउँदा उनीहरुको आर्थिक अवस्थामा सुधार हुनसकेको छैन ।
'हामीलाई बस्ने ठाउँ समेत छैन । साहु महाजनले विश्वास गरेर ऋण दिँदैनन् । पैसाको अभावमा पासपोर्ट बनाउन सकेको छैन । विदेश जान कसरी सम्भव छ ? ' आगनमा साबेको डोरी बनाउँदै गरेका माहिला छोरा चन्देश्वरले भन्नुभयो 'चुनावमा नेताहरु जग्गा खोजेर घर बनाइदिने, रोजगारमा लगाइदिने आश्वासन दिएर जान्छन् । जितेर गएपछि फर्केर आउँदैनन् । हाम्रो त जिन्दगी नै यसरी कट्ने हो ।'
स्थानीय सोम सहदा समूहका अध्यक्ष रामकरण दास भन्नुहुन्छ, 'चुनावमा उम्मेदवारहरु आउँदा विभिन्न प्रलोभन दिन्छन् र एक/दुई हजार रुपैयाँ दिएर भोट किनिहाल्छन् ।' पानोका तीनै छोराको परिवार घरको अभावमा निकै कष्टपूर्ण जीवन बिताइरहेका छन् तर जितेर गएका जनप्रतिनिधिहरु मुखदर्शक मात्र भएका छन् ।
जेठो छोरा श्रीचन्द्रको परिवार पाँच जनाको भएकाले घरभित्र खाना पकाउन चुल्हो समेत नअट्ने भएपछि गाउँलेहरुले मिलेर ग्यास चुल्होको व्यवस्था गरिदिएका छन् ।
झुपडी बाहिर पाइला टेक्ने सम्मको जग्गा छैन । थोरै खाली जग्गा छ । छिमेकले कहिलेकाहीँ छेकवार लगाइदिँदा उठबस गर्नसमेत समस्या हुन्छ, पानोदेवी परिवारलाई । छोराहरुको लागि कही सहयोग गरिदिन पानोदेवीले सरकारसँग गुहार समेत गर्नुभयो ।
प्रतिक्रिया