वीरगंज, १८ चैत । बारा र पर्सामा आइतवार राति आएको भीषण हावाहुरीका कारण ज्यान गुमाएका २७ जनामध्ये २५ जनाको सनाखत भएको छ । गृहमन्त्रालयले पत्रकार सम्मेलन गरी ज्यान गुमाएकाको सूची सार्वजनिक गरेको हो ।
मन्त्रालयले सार्वजनिक गरेको सूची अनुसार ज्यान गुमाउनेमा ५ बालबालिकाका साथै १२ जना पुरूष र १० जना महिला छन् ।
त्यस्तै बारा र पर्साका ७ वटा सरकारी तथा निजी स्वास्थ्य संस्थामा घाइतेहरूको उपचार भइरहेको पनि मन्त्रालयले जानकारी दिएको छ । वीरगञ्जको नारायणी उपक्षेत्रीय अस्पतालमा ११६, नेशनल मेडिकल कलेज वीरगञ्जमा १००, गण्डक अस्पताल वीरगञ्जमा २८, वीरगञ्ज हेल्थकेयरमा ३९, एड्भान्स अस्पताल वीरगञ्जमा २०, कलैया अस्पतालमा ३८ र तराई अस्पताल वीरगञ्जमा २ जना गरी ३४३ जनाको उपचार भइरहेको मन्त्रालयले जनाएको छ ।
हावाहुरीका कारण वीरगञ्ज महानगरपालिका १२ गण्डक नजिकै बिजुलीको पोल ढल्दा हेटौँडाबाट वीरगञ्ज गइरहेको ना ६ ख ९३६० नम्बरको बसमा पर्न जाँदा १ जनाको ज्यान जानुका साथै ५ जना घाइते भएको पनि मन्त्रालयले जनाएको छ । बारामा भने घर भत्कँदा मृत्यु र घाइते भएको पनि जनाएको छ ।
ज्यान गुमाउनेहरुमा वीरगंज–१८ का सरोज राम, बारा, फेटा–१ का हरिनारायण दास, मनोरमा देवी, रुनि देवी, अक्षयलाल माझी, नन्द पटेल (प्रसौनी–४), फेटा ६ का रुवि खातुन, कलैया–१८ का गढिमा देवी, भारत मोतीहारीका हितलाल सहनी, फेटा–६ का विविमा खातुन, मुस्तकिमा खातुन, मीना खातुन, नोक्सारा मियाँ, भवानीपुर–१ का राम माझी, सुरज माझी, भारत मोतिहारीका राजेश मुखिया, भारत सीतामढीका अवधेश पासवान, भारत युपी बरेलीका राधे लोडी, सुवर्ण–८ का तरिफा खातुन, फेटा–६ का अलिसा खातुन, सकिया खातुन, सम्भिधा खातुन, महागढीमाई–७ का कोइरी देवी, सुवर्ण–४ का श्रीप्रसाद यादव, फेटा–६ का सबनम खातुन रहेका छन् ।
प्रतिक्रिया