सिमरा : नेत्र बिक्रम चन्द नेतृत्वको नेकपाले आज देशभर बन्द आह्वान गरेको छ । सरकारले प्रतिबन्ध लगाएसँगै आह्वान गरिएको बन्दको प्रभाव बारामा भने नपरेको प्रहरीले दाबी गरेको छ ।
बिशेषगरी राजमार्गमा गुड्ने लामो तथा छोटो दुरीका सवारीहरु पनी पूर्ववत अवस्थामा नै सञ्चालन भैरहेको जिल्ला प्रहरी कार्यालय बाराका प्रमुख, प्रहरी उपरिक्षक सानुराम भट्टराईले बताए ।
बारा खबरसँग कुराकानी गर्दै उनले अप्रिय घटना हुन नदिन राजमार्ग क्षेत्रमा बिशेष निगरानी बढाएको बताए । 'सवारीहरु निर्वाध रुपमा सञ्चालन गराउन आमीले राजमार्ग क्षेत्रमा बिशेष सुरक्षा ब्यवस्था अपनाएका छौँ ।' उनले भने, 'अन्य ग्रामिण क्षेत्रहरुलाई बिशेष निगरानी राखिरहेका छौँ ।'
नागरिकको जनधनको सुरक्षाका लागी बारा प्रहरी गम्भिरताका साथ खटिएको भन्दै हल्लाको पछाडी नलागी ढुक्क हुन समेत उनले आग्रह गरे ।
बिप्लबका चार कार्यकर्ता पक्राउ
बारा प्रहरीले बिप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका चार कार्यकर्तालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा पचरौता नगरपालिकाका ईन्चार्ज चन्द्रिका पटेल, कलैया पिपराढीका जिल्ला जनपरिषद (जनसत्ता प्रमुख) शिवचन्द्र अधिकारी, बारागढी गाउँपालिका सुखीपथराका मधेशी राष्ट्रिय मुक्ति मोर्चा क्रान्तिकारीका केन्द्रीय सदस्य सर्वजीत चौधरी र जीतपुरसिमरा उपमहानगर निवासी अखिल नेपाल किसान संघ क्रान्तिकारीका जिल्ला अध्यक्ष भीमबहादुर खनाल रहेका छन् ।
पक्राउ परेका चारै जनालाई जिल्ला प्रहरी कार्यालय, बाराको हिरासतमा राखिएको छ ।
पक्राउ परेकाहरुलाई सार्वजनिक शान्ति विरुद्धको कसुर अन्तर्गत मुद्दा दर्ता गरिएको प्रहरीले जनाएको छ ।
प्रतिक्रिया