वीरगंज, ५ चैत । संघीय समाजवादी फोरम नेपालका वरिष्ठ उपाध्यक्ष एवं प्रदेश प्रदेशसभा सदस्य मन्जुर अन्सारी, सहसचिव मुकेश द्विवेदी, केन्द्रीय सदस्य शशीकपुर मियाँँलगायतले मंगलवार बिहान पत्रकार सम्मेलन गरी फोरमको अधिवेशनबारे असन्तुष्टि सार्वजनिक गरेका छन् ।
वैशाखमा हुने महाधिवेशनलाई लिएर पार्टी नेतृत्वको गतिविधि प्रति एक समूहले सार्वजनिक रूपमै असन्तुष्टि जनाएको छ ।
सम्मेलनमा उनीहरूले पार्टी अध्यक्ष र केही नेताहरू अलोकतान्त्रिक, अवैधानिक र गैर राजनीतिक गतिविधि गरिरहेको आरोप लगाए । पार्टी नेतृत्व नसच्चिए जिल्लामा समानान्तर कमिटी गठन गर्ने चेतावनीसमेत दिए ।
अन्सारीले केही केन्द्रीय सदस्य, अधिकांश जनप्रतिनिधि र पार्टीको ७५ प्रतिशत हिस्सा आफ्नो रहेको दावी गरे । 'नाता पर्नेलाई सचिव बनाउने, परिवारलाई निर्वाचनमा उठाउने गतिविधि पार्टीमा विगतदेखि नै देखिएको हो ।
त्यतिमात्रै होइन वरिष्ठ उपाध्यक्षलाई वाईपास गरेर विधान विपरीत सुन्दर कुर्मीलाई कार्यबाहक अध्यक्षको जिम्मेवारी दिने काम भयो,' उनले भने 'अहिले महाधिवेशनको समयमा आएरसमेत मनोमानी भइरहेको छ । पार्टीको बैठक बसेको छैन, पार्टी कार्यालयमा ताल्चा लगाएर राखिएको छ । त्यसैले संगठन सुदृढिकरणका लागि आन्तरिक संघर्षमा छौं ।'
केन्द्रीय सदस्य शशी कपुर मियाँँले अलोकतान्त्रिक पद्धतिमा पार्टी सञ्चालन गरे समानान्तर कमिटी गठन गर्ने चेतावनी दिए ।
चैत २ गते बसेको संघीय समाजवादी फोरम नेपाल जिल्ला कार्य समितिको बैठकमा गणपूरक संख्या नपुगेको दावी उनीहरूको छ । सोही बैठकले विभिन्न स्थानीय तह र वडाहरूमा ईकाई कमिटि गठन गर्न प्रतिनिधि खटाएको छ । तर त्यस दिन बैठकमा १ सय १७ सदस्यीय जिल्ला कार्य समिति सदस्यमध्ये ९३ जना उपस्थित रहेको दावी फोरम नेपाल पर्साको छ ।
पार्टीका जिल्ला अध्यक्ष एवं सांसद प्रदीप यादवले आफू पार्टीको सिद्धान्त र विधान अनुसार नै अघि बढिरहेको बताए । 'केन्द्र र प्रदेश कमिटीको निर्देशन र जिल्ला कमिटीको बहुमतले निर्णय गरे अनुसार अधिवेशनको तयारी भइरहेको छ । पार्टीको सिद्धान्त र विधान अनुसार नै चलेको छु मनोमानी गरेको छैन' उनले भने ।
पार्टीको विधानमा वरिष्ठ उपाध्यक्ष राख्ने प्रावधान नै नभएको बताउँदै उनले मिटिङमा नआई बाहिर ठूला ठूला कुरा गरेर नहुने तर्क उनको छ ।
फोरम नेपालका पर्सा सह ईन्चार्ज राम नरेश यादवले पार्टीको निर्देशन अनुसार नै जिल्लामा अधिवेशन भइरहेको बताए । 'पार्टीमा ठाउँ नपाएका केही साथीहरूले असन्तुष्टि जनाउनुभएको छ । उहाँहरूको पुरानो राजनीतक पृष्ठभूमि हेरे पुगिहाल्छ । उनीहरूले बदर गर्न भनेर केन्द्र र प्रदेशलाई चिठ्ठी पठाएको भए पनि कुनै सुनुवाई भएन' उनले भने 'धमाधम जिल्लामा अधिवेशनहरू भईरहेको छ । मूल प्रवाहीकरणमा नआउनेहरू पार्टीबाट बाहिर जान्छन् भन्ने पार्टीको निर्देशन छ । पार्टीको नीति अनुसार नै अघि बढ्छौं '
बेलुकासम्म अधिकांश स्थानीय तहमा वडामा अधिवेशन सकिने उनको भनाइ छ ।
फोरम नेपालको नयाँ विधानमा भएको व्यवस्था प्रत्येक गाउँपालिकाबाट ३ जना अनिवार्य सदस्य र उनीहरूले २५ प्रतिशत मनोनित गर्ने प्रावधान अनुसार पर्सा जिल्ला कार्यसमिति अब ५३ सदस्यीय हुने छ ।
प्रतिक्रिया