वीरगंज, १६ माघ ।
ब्रह्माकुमारी राजयोग सेवा केन्द्र वीरगंजले महाशिवरात्रि पर्वको अवसर पारेर एकदिने रक्तदान एवं निःशुल्क नेत्र परीक्षण शिविर गरेको छ ।
सेवा केन्द्र की मुख्य सञ्चालिका ब्रह्माकुमारी रविना दिदीको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथि पर्सा क्षेत्र नं. १ का सांसद तथा संघीय समाजवादी फोरमका जिल्ला अध्यक्ष प्रदिप यादवले पानशमा दीप प्रज्वलन गरी उद्घाटन मन्तव्य व्यक्त गर्नुहुँदै आफुलाई यहाँ आउँदा अपूर्व शान्तिको अनुभूति भएको बताउनु भयो । यसै गरी ब्रह्माकुमारी संस्थाद्वारा सिकाईने आध्यात्मिक एवं संयमशील जीवनशैलीको सकारात्मक प्रभाव समाजमा पर्ने भन्दै महाशिवरात्रि पर्वको पावन अवसर पारेर महोत्सवको शुभारम्भ रक्तदान शिविर र निःशुल्क आखा परिक्षण शिविर जस्तो निकै प्रेरणादायी र अत्यन्तै विशिष्ठ सामाजिक सेवाबाट गरेकोमा सफलताको कामना सहित हार्दिक आभार समेत प्रकट गर्नु भयो ।
यसै गरी मुख्य सञ्चालिका ब्रह्माकुमारी रविना दिदीले अहिले दुनियामा चारैतिर वैमनस्यता र हाहाकार चलिरहेको बेला मानवले शान्ति र आनन्द प्राप्तिका लागि विभिन्न भौतिक विधिहरू अपनाउदै भौतारी रहेको बेला आफुलाई वास्तविक रूपमा चिनेर ईश्वर पिता संग सुमधुर सम्बन्ध गाँस्न सके वास्तविक शान्ति, आनन्द र खुशी प्राप्त हुने बताउनु भयो ।
त्यसैगरी वरिष्ठ समाजसेवी मधु राणा, युवा समाजसेवी सुनिल खेतान, वरिष्ठ सामाजिक अभियन्ता प्रकाश थारू, फोटो पत्रकार महासंघका प्रदेश संयोजक राम सरार्फ लगायतका वक्ताहरूले रक्तदानको महत्व एवं सेवा केन्द्रद्वारा गरिने विभिन्न सामाजिक सेवाका विषयमा सकारात्मक धारणा व्यक्त गरेका थिए । कार्यक्रममा किरण आँखा अस्पतालका डा. अमर क्याल, डा. वन्दना क्याल, रेडियो समग्र मधेशका निर्देशक श्याम गुप्ता, ग्यामुद्दिन ठकुराइ लगायत अन्य विशिष्ट व्यक्तिहरूको सहभागिता रहेको थियो ।
ब्रह्माकुमार गोवद्र्धन, ब्रह्माकुमार जीतेन्द्र, ब्रह्माकुमारी जया, ब्रह्माकुमारी गोपिनी, रवि सर्राफ, अर्जुन अधिकारी, श्रवण गुप्ता तथा वीरगंज नरसिंह क्याम्पसका नर्सहरू एवं अन्य गरी १० महिला र २५ पुरूष गरी ३५ जनाले रक्तदान गर्नुका साथै ४० महिला र ३० पुरूष गरी ७० जनाले निःशुल्क आँखा परिक्षण शिविरको लाभ लिएका छन् ।
कार्यक्रममा ब्रह्माकुमारी बेलीले स्वागत मन्तव्य प्रस्तुत गरेकी थिईन भने कार्यक्रमको सहजीकरण ब्रह्माकुमार गोकुल गुभाजूले गरेका थिए ।
प्रतिक्रिया