बिरगंज १३ पर्सा — सशस्त्र प्रहरी बेस क्याम्प पोखरियाको टोलीले पर्साको जगरनाथपुर गाउँपालिका–६ औराहामा रहेको खोला छेउबाट सोमबार बिहान २८ केजी ७६० ग्राम तयारी चरेस र १५ केजी २८ ग्राम चरेसको धुलो बरामद गरेको हो ।
सशस्त्र प्रहरी पर्साले तयारी अवस्थामा रहेको ठूलो मात्रामा लागूऔषध चरेस र चरेसको धुलो बरामद गरेको छ । सशस्त्र प्रहरी निरीक्षक महेन्द्र सिंह थापाको नेतृत्वमा रहेको टोलीले औराहा खोलाको छेउमा रहेको कल्भर्टबाट बिहान उक्त लागूऔषध चरेस बरामद गरेको हो ।
सोनवर्षाबाट तस्करले भरियालाई चरेस बोकाएर भारततर्फ लैजादै गरेको सूचना पाएपछि सशस्त्र प्रहरीको टोली आइतबार राति नै ओरिया खोलामा खटिएको थियो । रातभर कुरेर बस्दा पनि चरेस बोकेर आएका तस्कर र भरियालाई फेला पार्न नसेकपछि सशस्त्र प्रहरी बेस क्याम्पमा फर्किएको थियो ।
सोमबार बिहान फेरि ओरीया खोलामा पुगेर सर्च गर्दा खोला छेउको कल्भर्टमा लुकाएर राखिएको अवस्थामा तयारी चरेस र चरेसको धुलाका पोकाहरु फेला पारिएको सशस्त्र प्रहरी निरीक्षक थापाले जानकारी दिए । तस्कर र भरियाको भने खोजी भइरहेको सशस्त्र प्रहरीले जनाएको छ ।
बरामद भएको चरेस इलाका प्रहरी कार्यालय पोखरियामा बुझाइएको थापाले बताए । यसैगरी सशस्त्र प्रहरी बेस क्याम्प १४ नम्बर गण वीरगन्ज भन्सार सुरक्षा गस्ती टोलीले तस्करी गरी भित्र्याइएको करिब डेढ लाखभन्दा बढी मूल्यको लत्ताकपडा पनि सोमबार बरामद गरेको छ ।
प्रतिक्रिया