कलैया,१० माघ ।
बारा जिल्लाको सबैभन्दा पहिलो कृपा दैनिक पत्रिकाले आफ्नो १८ औं बार्षिकोत्सवको अवसरमा दुईजना कृयाशिल पत्रकारलाई नगद राशी सहित पुरस्कृत गर्ने भएको छ ।
पत्रिकाको प्रकाशन समूहको बिहीबार बसेको बैठकले संचारकर्मी पुरस्कृत गर्नका लागि तीन सदस्यीय छनौट समिति गठन गरेको हो । कृपा दैनिकले स्थापना गरेको नवजान कृयाशिल पत्रकारिता पुरस्कार र चन्द्रप्रसाद खनाल स्मृति कृयाशिल पत्रकारिता पुरस्कार प्रदान गर्नका लागि कृपा दैनिक पत्रिकाकी प्रकाशक सबिता चालिसे(उपाध्याय)संयोजक रहने गरी बनाइएको समितिको सदस्यमा बाराका अग्रज पत्रकार गोकुल घोरसाइने र पत्रिकाका कार्यकारी सम्पादक कृष्णउदास खनाल रहनु भएको छ । समितिको सिफारिसमा परेका संचारकर्मीहरुलाई कृपा दैनिकको बार्षिकोत्सवका दिन आगामी फागुन ४ गते पुरस्कृत गरिने पत्रिकाकी प्रकाशक एवम् पुरस्कार छनौट समितिकी संयोजक सबिता चालिसे(उपाध्याय)ले जानकारी दिनुभयो ।
कृपा दैनिक पत्रिकाका प्रधान सम्पादक नवराज उपाध्यायकी धर्मपत्नी जानकीदेवी उपाध्यायको नाउँमा नवजान कृयाशिल पत्रकारिता पुरस्कार २०७२ सालमा स्थापना गरिएको हो भने कृपा दैनिकका कार्यकारी सम्पादक कृष्णउदास खनालका पिता चन्द्रप्रसाद खनालको नाउँमा स्वर्गीय चन्द्रप्रसाद खनाल स्मृति पत्रकारिता पुरस्कार २०६८ सालमा नै कृपा दैनिक पत्रिकाले स्थापना गरेको हो ।
प्रतिक्रिया