पर्सा पुस २५
वीरगञ्जमा चल्ने साना सवारी साधनका चालकहरुमध्ये ८ जना मोतियाविन्दु भेटिएको छ।
एउटा आँखामा मोतिया विन्दु भएतापनि उनीहरुले अर्को आँखाको सहायतमा सवारी साधन चलाउने गरेको भेटिएको हो।
जिल्ला ट्राफिक प्रहरी कार्यालय पर्सा र माट्रिका आइ फाउन्डेसनले वीरगंजमा चालकहरुलाई लक्षित गरेर आयोजना गरेको निशुल्क आँखा जाँच शिविरमा यस्तो भेटिएको प्रदेश नम्बर २ की ट्राफिक प्रहरी प्रमुख किरण बज्राचार्यले जानकारी दिइन्।
शिविरमा चालकहरुमध्ये ५२ जनाले नजिकको नदेख्ने, १५ जना टाढाको नदेख्ने ८ जनामा मोतियाविन्दु, २ जनाको कलर भिजन फरक, ४० जनाको धुलोले गर्दा एलर्जी भेटिएको माट्रिका आइ फाउन्डेसनले जनाएको छ। मोतिया बिन्दु हुनेहरुको माट्रिका आइ फाउन्डेसनले निशुल्क अप्रेसन समेत गरेको थियो।
पर्सा ट्राफिकमा सरुवा भएर गए लगत्तै प्रहरी निरीक्षक राजकुमार सिंहले दुर्घटनाको विवरण विश्लेषण गरेर चालकहरुको आँखा जाँच गर्ने योजना आफू मातहत निकायका प्रमुख बज्राचार्यलाई सुनाएका थिए।
त्यसका लागि ट्राफिक प्रहरीले माट्रिका आइ फाउन्डेसन र अन्य अस्पतालसँग सहयोग मागेको थियो। घन्टाघरमा गरिएको शिविरमा २ सयभन्दा बढी चालकहरुले आँखा जचाएका थिए।
यसैबीच जिल्ला ट्राफिक प्रहरी कार्यालय पर्साले अटो, इरिक्सा र स्कुल बसहरुमाथि कडाइ सुरु गरेको छ। ट्राफिक नियम उल्लघंन गर्ने क्रम बढेपछि जिल्ला ट्राफिक प्रहरी कार्यालय पर्साले अटो,इरिक्सा र स्कुल बसहरुमाथि कडाइ गरेको हो।
डेढ महिनाको अवधिमा झण्डै २ सय वटा अटो, इरिक्सा र २० वटा बसहरुमा कारबाही गरिएको प्रहरी निरीक्षक राजुकमार सिंहले जानकारी दिए।
'अटो र इ रिक्सा संचालनका लागि रुट छुट्टाइएको छ, 'प्रहरी निरीक्षक सिंहले भने 'उनीहरुलाई पिक अफ ड्रपका लागि पनि ठाउँ छुट्टाइएको छ, तर कसैले नियम नमानेपछि कारबाही थालिएको हो। '
पर्सामा चल्ने इ रिक्सा र अटोमा प्रहरीले स्टीकर पनि राखिदिने गरेको छ। कतिपयले स्टीकर नराख्ने गरेको पनि भेटिएको सिंहले बताए।
इ रिक्सा र अटो दुवैका लागि लाइसेन्स नभएकाहरुको हकमा नागरिकता बोक्नुपर्ने अनिवार्य शर्त छ।
ट्राफिक प्रहरीले चालक र स्थानीय प्रतिनिधिहरुको रोहवरमा यो सहमति गरेतापनि कतिपयले नागरिकता नबोकी सवारी चलाउने गरेका छन्। ट्राफिक प्रहरीले नागरिकतामा उमेर हेर्न सहज हुन्छ।
स्कुलका बसहरुको ब्लु बुक नहुने, नविकरण नगर्ने, कतिपय चालकहरुको लाइसेन्स नै नहुने र क्षमताभन्दा बढी विद्यार्थी बोक्ने गरेको भेटिएको सिंहले बताए।
प्रतिक्रिया