१० माघ, वीरगञ्ज । पर्सा जिल्लाको ग्रामीण क्षेत्रलाई जोड्ने तिलावे पुलमा व्यापारीहरुले टायर बालेर प्रदर्शन गरेका छन् । २५ टन केराउ लोड गरिएको ट्रक प्रहरीले नियन्त्रणमा लिएको बिरोधमा व्यापारीहरुले प्रदर्शन गरेका हुन् ।
तिलावे पुलबाट प्रहरीले गएराति २५ टन केराउ लोड भएको ना४ख १२४ नम्बरको ट्रक नियन्त्रणमा लिएको थियो ।
भारततर्फ अवैध रुपमा लैजान लागेको अवस्थामा केराउ नियन्त्रणमा लिएको प्रहरीले दावी गरेको छ ।
मधुवनका आदर्शकुमार साह लगायतले केराउ खरिद गरी भारत लैजाँदै गरेको दावी प्रहरीको छ ।
तर व्यापारीहरुले भने रानीघाटस्थित बालाजी सप्लायर्सबाट १६ लाख ७५ हजार मुल्यमा खरिद गरेको २५ टन केराउ बहुअर्वाभाठामा रहेेको संदिप सप्लायर्समा लगिरहेको बेला प्रहरीले तस्करीको केराउ भन्दै नियन्त्रणमा लिएको आरोप लगाएका छन् ।
उनीहरुले प्रहरीले अनावश्यक दुःख दिएको भन्दै तिलावेमा टायर बालेर प्रदर्शन गरेका थिए ।
व्यापारीहरुले टायर बालेर प्रर्दशन गरेका कारण ग्रामिण क्षेत्रमा जाने एक मात्र सडकमा लामो जाम लागेपछि प्रहरीले बल प्रयोग गरेर खुलाएको थियो । सो क्रममा प्रदर्शनकारी र प्रहरीबीच झडपसमेत भएको छ ।
प्रदर्शन गरी यातायात अवरुद्ध पार्ने ६ जना व्यापारीहरुलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
प्रहरीले प्रदर्शनमा संलगन उत्तम भनिने निरञ्जन तिवारी, सोनालाल साह, नवल किशोर साह, दामोदर तिवारी, चिन्टु तिवारी, रवी गुप्ता र सन्तोष गुप्तालाई नियन्त्रणमा लिएको छ ।
जिल्ला प्रहरी कार्यालय पर्साका प्रमुख प्रहरी उपरीक्षक रेवती ढकालले तस्करीको केराउ समातेका विरोधमा प्रदर्शन गर्ने ७ जना व्यापारीलाई प्रहरीले नियन्त्रणमा लिएको बताए । '७ जना प्रदर्शनकारीलाई अनुसन्धानका लागि नियन्त्रणमा लिएका छौं,' उनले भने, 'घटनाबारे थप अनुसन्धान भइरहेको छ ।'
प्रदर्शनको समाचार संकलन गर्न गएका केही पत्रकारलाई समेत प्रहरीले दुब्र्यबहार गरेको छ ।
प्रतिक्रिया