वीरगञ्ज – वीरगञ्ज महानगरपालिका वडा नम्बर–६ निवासी माधुरी बर्णवालका अभिभावकले आफ्नी छोरीको हत्या गरिएको दावी गर्दै न्यायको माग गरेका छन्।
माधुरीका पिता वेदप्रकाश बर्णवालले सोमबार वीरगञ्जमा पत्रकार सम्मेलन गरी आफ्नी छोरीलाई नेपालगञ्जका मनिषचन्द्र बर्णवालले हत्या गरेका बताएका हुन्।
मनिषचन्द्र वेदप्रकाशका ज्वाइँ हुन्। मनिषचन्द्रसँगै उनका बाबु र आमा मिलेर माधुरीको हत्या गरेको परिवारको दावी छ। माधुरीका पिता वेदप्रकाशले वि.सं. २०७४ साल मंसिरमा आफ्नी छोरीको विवाह नेपालगञ्जका मनिषचन्द्रसँग भएको जानकारी दिए।
वेदप्रकाशले केही दिनअघि अचानक घरपक्षले माइतीबाट सुन नगद मागेर ल्याउन मानसिक यातना दिँदै आइरहेको छोरीले बताएको जनाए।
नगद र सुन नपाएपछि त्यसैको रिसमा आफ्नी छोरीको हत्या भएको उनले बताए। गएको पुस १८ गते राति आफ्नी छोरीको मृत्यु भएको खबर पाउना साथ नेपालगञ्ज गएको जनाउँदै छोरीले आत्महत्या गरेको देखाउने कोसिस भएको बताए।
'घरेलु व्यवहारलाई हेर्दा आफ्नी छोरी र घरपरिवारबीच खटपट भइरहेको अवस्था देखिएको छ,' वेदप्रकाशले भने, 'मेरो छोरीले आत्महत्या गरेको छैन, उसको सुनियोजित तरिकाले हत्या गरिएको छ।'
घटना भएपछि उक्त कुरालाई छरछिमेकी तथा प्रहरीलाई खबर नगरी घटनास्थलका सम्पूर्ण प्रमाण मेटाएर मृतकलाई अस्पताल पुरयाई मृत घोषणा गराइएको दावी उनले गरे।
वेदप्रकाशले आफ्नी छोरीलाई कर्तव्य गरि मारेको अभियोगमा मनिषसँगै उनका बाबु गोपीचन्द्र बर्णवाल र आमा राजकुमारी बर्णवालविरुद्ध जिल्ला प्रहरी कार्यालय बाँकेमा जाहेरी दर्ता गराएका छन्। उनले आफ्नी छोरीको हत्यामा संलग्नहरुको तत्काल खोजी गरी कडा कारवाहीको माग गरेका छन्।
यस्तो छ माइती पक्षको दावी
'गएको पुस १८ गते ज्वाइँ मनिषले मलाई फोन गरी हामी दुईबीच झगडा भएको खबर सुनाए। मैलै यहाँबाट छोरीको नम्बरमा फोन गर्दा घण्टी गएको तर फोन उठेन,' देवप्रकाशले भने, 'छोरीको फोन नउठेपछि मैले आतिएर ज्वाइँको मोबाइलमा ४ र ५ पटक फोन गर्दा फोन व्यस्त बनाई फोन उठाएनन्।'
सोही दिन रातको ११ बजे गोपीचन्द्र बर्णवालले आफुलाई फोन गरी माधुरीको भेरी अञ्चल अस्पतालमा उपचारका क्रममा ज्यान गएको भनी बताएको वेदप्रकाशले जनाए।
छोरीको मृत्यु भएको खबरले मर्माहत भएर परिवारका सदस्य र साथीहरुसँग आफु नेपालगञ्ज पुगेर घटनास्थल छोरीको सुत्ने कोठामा मरेको परिवारले बताएका थिए।
उपचारार्थ अस्पताल लग्दा डाक्टरले मृत घोषित गरेको भनि बहाना बनाई घटनालाई ढाकछोप गरी सामसुम पार्न खोजिएको उनले बताए।
प्रतिक्रिया