ठोरी । नेपालको ठोरीबाट छिमेकी राष्ट्र भारतको राजधानी शहर नयाँदिल्लीसम्म नियमित बस सेवा सुरु भएको छ । माघे संक्रान्तिको अवसर पारी भारतीय बससेवा कम्पनी गोरखधाम एक्सप्रेसले ठोरीबाट नयाँ दिल्लीसम्म दैनिक बससेवा सुरुवात गरेको हो ।
नयाँदिल्लीबाट नरकटियागंजसम्म नियमित सञ्चालनमा रहेको सो बससेवालाई नेपाली पक्षको आग्रहसंगै ठोरीसम्म थप गरिएको ठोरीका व्यवसायी रामशरण लामिछानेले स्वदेश एफ.एम.लाई जनाउनुभयो । नेपाल भारत सीमावर्ती भिखना ठोरीबाट हरेक दिन दिउँसो १ बजे बस छुट्ने र भोलिपल्ट बिहान ७ नयाँ दिल्ली पुग्ने जनाइएको छ । स्लीपर सुबिधा तथा वातानुकुलित एअर कण्डीसनको व्यवस्थायुक्त बस सेवा सुरुवात भएसंगै दिल्ली पुग्नुपर्ने नेपालीहरुलाई सहजता भएको लामिछानेको भनाई थियो ।
यसअघि दिल्ली पुग्नुपर्ने यात्रुहरुले नरकटियागंजसम्म पुगेर रेल चढ्नु पर्ने अवस्था रहेको थियो । त्यसैगरी नरकटियागंजबाट ठोरीसम्मको रेलसेवा अवरुद्ध रहेकाले नरकटियागंज पुग्न टेम्पो वा साना सवारी साधन चढ्नुपर्ने अवस्था रहेको छ । दिल्लीसम्मका बससेवा सुरुवात भएसंगै बैंकल्पिक नाकाको रुपमा विकास हुन खोजिरहेको ठोरीबासी खुसी भएका छन् ।
प्रतिक्रिया