पर्सा, १६ माघ । वीरगञ्जको बिपी उद्यानमा शहीद पार्कको शिलान्यास गरिएको छ । प्रदेश नं २ का मुख्यमन्त्री लालबाबु राउत गद्दी र भौतिक पूर्वाधार विकास मन्त्री जितेन्द्र सोनलले संयुक्तरूपमा शहीद पार्कको शिलान्यास गर्नुभएको हो ।
सो अवसरमा मुख्यमन्त्री गद्दीले शहीदको बलिदानबाट नै सङ्घीय लोकतान्त्रिक गणतन्त्र र तीन तहको सरकारलगायतका उपलब्धि हासिल भएको धारणा व्यक्त गर्नुभयो । उहाँले शहीदको बलिदानलाई सम्मान गर्दै वीरगञ्जमा निर्माण हुन लागेको शहीद पार्कमा जति रकम लागेपनि प्रदेश सरकारले ब्यहोर्न तयार रहेको बताउनुभयो ।
भौतिक पूर्वधार विकास मन्त्री सोनलले शहीदको बलिदानलाई उच्च सम्मान गर्दै उहाँहरूको सम्झनामा प्रदेशको तीन स्थानमा शहीद पार्क निर्माण गर्ने प्रदेश सरकारले निर्णय गरेको जानकारी दिनुभयो ।
उहाँले वीरगञ्जको घन्टाघर नजिकै रहेको बिपी उद्यान तथा सप्तरीको मलेठ र भारदहमा पार्क निर्माण गर्ने सरकारले निर्णय गरेको बताउनुभयो । वीरगञ्जको शहीद पार्कका लागि प्रदेश सरकारले हाल रू ७५ लाख विनियोजित गरेको र आवश्यकताअनुसार रकम थपिँदै जाने मन्त्री सोनलले जानकारी दिनुभयो ।
शहरी विकास तथा भवन कार्यालयका निर्देशक सरोज गोइतको अध्यक्षतामा सम्पन्न कार्यक्रममा प्रतिनिधिसभा सदस्यहरू प्रदीप यादव, प्रह्लाद गिरी, राजपाका महासचिव शिव पटेललगायतका वक्ताले जनताको अधिकारका लागि बलिदानी दिने शहीदको सम्मानमा पार्क निर्माण गरी प्रदेश सरकारले सराहनीय कार्य गरेको धारणा व्यक्त गर्नुभएको छ । (तस्वीर उपलब्ध छ)
प्रतिक्रिया