नेहा झा
जनकपुरधाम, पुस ३०
प्रदेश नम्बर २ को आर्थिक मामिला तथा योजना मन्त्री विजय यादवले सचिवमाथि हातपात गरेको विरोधमा कर्मचारीहरू आन्दोलित भएका छन्।
उद्योग वन तथा पर्यटन मन्त्रालयका सचिव विद्यानाथ झालाई कुटपिट गरिएको विरोधमा धनुषाका निजामती कर्मचारीहरूले मुख्यमन्त्री लालबाबु राउतले ज्ञापनपत्र बुझाएका छन्।
यसअघि कर्मचारीहरू हातमा कालोपट्टी बाँधेर कार्यकक्षमा उपस्थित भएका थिए।
निजामती कर्मचारीहरूको आधिकारिक ट्रेड युनियन धनुषाले मुख्यमन्त्री लालबाबु राउतलाई बुझाएको ज्ञापनपत्रमा सचिवमाथिको हातपातले कर्मचारीको मनोबल गिराउने काम भएको उल्लेख छ।
घटनाबाट कर्मचारीले असुरक्षा महशुस गरेको भन्दै पूर्ण सुरक्षाको ग्यारेण्टी गराउनका लागि ज्ञापनपत्रमार्फत् माग गरिएको छ।
कुटपिटको घटनालाई निष्पक्ष छानबिन गरी दोषीलाई तत्काल कारबाही गर्न कर्मचारी युनियनले माग गरेको छ।
छानबिन गरी २४ घण्टाभित्र सत्यतथ्य सार्वजनिक नगरे विरोधका कार्यक्रमलाई यथावत् राख्ने निजामती कर्मचारी आधिकारिक ट्रेड युनियन धनुषाका अध्यक्ष रामबाबु साहले बताए।
मन्त्री यादवले आइतबार आफूले भनेको एनजिओलाई योजना किन नपारेको भन्दै सचिव झामाथि हातपात गरेका थिए।
प्रतिक्रिया