२o७५ माघ २ बुधबार| जनकपुर- प्रदेश २ का ८ जिल्लामा जन्मिने सबै छाेरीकाे १ लाख रुपैयाँको बीमा योजना प्रारम्भ भएको छ। मुख्यमन्त्री लालबाबु राउतले प्रदेश सरकारको घोषित कार्यक्रमअनुसार माघ १ गतेदेखि जन्मिने छाेरीका लागि १ लाख रुपैयाँको बीमा योजना लागू भएको बताए।
सप्तरी जिल्लाको सुरुङ्गा नगरपालिका–४, कुशहामा मङ्गलबार आयोजना गरिएको 'माघी महोत्सव, २०७५' को उद्घाटन गर्दै मुख्यमन्त्री राउतले भने, 'प्रदेश २ मा जन्मिने बितिकै बेटीहरु लखपति हुने छन्।'
'सप्तरी जिल्लाको महादेवा गाउँपालिकाबाट बीमा गर्ने कार्य सुरु भएको छ', राउतले भने, 'महादेवा गाउँपालिकासहित प्रदेश २ का ८ जिल्लाका ८ वटा स्थानीय तहबाट बीमा गर्ने कार्य सुरु गरिएको हो।'
'बेटी बीमा कार्यक्रम' अन्तर्गत पहिलो चरणमा विरगञ्ज महानगरपालिका, बाराको सुवर्ण गाउँपालिका, रौतहटको यमुनामाई नगरपालिका, सर्लाहीको पर्सा गाउँपालिका, महोत्तरीको एकडारा गाउँपालिका, धनुषाको कमला नगरपालिका, सिरहाको औरही गाउँपालिका र सप्तरीको महादेवा गाउँपालिकामा बीमा गर्ने कार्य सुरु गरिएको मुख्यमन्त्री राउतले जानकारी दिए।
अब जन्मिने प्रदेशका सबै छोरीहरुको बीमा गरेर छोरीलाई पनि छोरासरह सक्षम र सबल बनाउन एवम् छोरीप्रति रहेको सोच परिवर्तन गर्न प्रदेश सरकार प्रतिबद्ध रहेको उनले बताए। मुख्यमन्त्री राउतले प्रदेश २ मा महिला सुरक्षाका लागि सरकारले विभिन्न कार्यक्रमहरु ल्याएको पनि अवगत गराए।
प्रतिक्रिया