३१ जेठ, विराटनगर । व्यवसायीसँग बार्गेनिङ गरेर रकम लिएको आरोपमा प्रहरीले एक पत्रकारलाई पक्राउ गरेको छ । विराटनगरबाट प्रकाशित हुँदै आएको राष्ट्रिय समाचारपत्र दैनिकका सम्पादक केदार चौहानलाई प्रहरीले बिहीबार बिहान पक्रेको हो ।
उर्लाबारी इलाका प्रहरी कार्यालयका प्रहरी निरीक्षक रामप्रसाद तिमिल्सिनाले उर्लाबारी बजारस्थित होटल भेटघाटमा व्यवसायीसँग बार्गेनिङ गरेर २० हजार नगद लिएको पाइएपछि चौहानलाई पक्राउ गरिएको जानकारी दिए ।
बुधबार राष्ट्रिय समाचारपत्र दैनिकमा वजन पानी उद्योगले उत्पादन गरेको पानी गुणस्तरहीन रहेको व्यहोराको समाचार प्रकाशित भएको थियो । समाचार प्रकाशितपछि उद्योग सञ्चालक ध्रुवचन्द्र पराजुलीले चौहानलाई होटलमा बोलाएर २० हजार दिएसँगै प्रहरीले उनलाई पक्रेको हो ।
चौहानले भने आफूलाई नियतबश फसाइएको बताएका छन् । जबरजस्ती रकम खल्तीमा हालिदिएर प्रहरी बोलाएको उनको आरोप छ ।
प्रहरीले अहिले पत्रकार चौहानमाथि अनुसन्धान भइरहेको जनाएको छ ।
प्रतिक्रिया