वीरगंज, १२ पर्साको जगरनाथपुर गाउँपालिका वडा नम्बर ३ बिजबनिया गाउँको खलुचई टोलमा एक बृद्ध महिलालाई उनका छिमेकीहरूले बोक्सीको आरोप लगाउदै निघार्त रूपमा कुटपिट गरेर घाइते बनाएका छन।
खलुचइ टोलका अहमद गद्धीकी पत्नी ६० बर्षीया इम्बानी खातुनलाई उनका छिमेकी जोखु मियाँँको परिवारका सदस्यहरूले बोक्सीको आरोपमा कुटपिट गरी घाइते बनाएका हुन। कुटपिटबाट गम्भीर घाइते बृद्ध महिला इम्बानीको नारायणी उपक्षेत्रीय अस्पताल वीरगंजमा उपचार भइरहेको छ।
जोखु मियाँँका एक बर्षीय नाति ज्वरोले बिरामी भएपछि इम्बानीले नै बोक्सीको तन्त्रमन्त्र गरेर बिरामी बनाइदिएको आरोप लगाउदै जोखु, उनका छोराहरू नूर हसन र अली हसन तथा बुहारीहरू नूर कलीमा र रोबिनाले सोमवार दिउँसो इम्बानीको घरमै आएर गालीगलौज गर्दै कुटपिट गरेको पीडित बृद्ध महिला इम्बानीका पति अममद गद्धीले बताए।
इम्बानीको एक मात्र छोरी छिन। इम्बानीकी छोरी शायरा खातुनको बिहे भइसकेको भएपनि उनी माइतीमै बस्दै आएकी छन् । ‘यो बुढिको छोरा छैन, त्यसैले हाम्रो नातिलाइ तन्त्रमन्त्र गरेर बिरामी पारेर मार्न खोज्दैछे भनेर पटक पटक बोक्सीको आरोप लगाएर उनीहरूले दुव्र्यवहार गर्दै आएका थिए, नारायणी उपक्षेत्रीय अस्पतालमा मङ्गलवार आमाको उपचार गराइरहेकी पीडित इम्बानीकी छोरी शायराले भनिन, ‘हिजो एक्कासी घरमा आएर जोखु र उनका छोरा बुहारीले बोक्सी हो भन्दै आमालाई चुल्ठोमा समातेर लछारपछार गर्दै कुटपिट गरे।ु
कुटपिटबाट बेहोश भएपछि आमा इम्बानीलाइ उपचारका लागि सेढवामा रहेको स्वास्थ्य चौकीमा लग्दा त्यहाँका स्वास्थ्यकर्मीले वीरगंजका लागि रिफर गरेपछि एम्बुलेन्समा राखेर सोमवार राति नै नारायणी उपक्षेत्रीय अस्पतालमा ल्याएको शायराले बताइन।
छिमेकी जोखुको घरमा कोही पनि बिरामी पर्दा उनीहरूले मेरी श्रीमतिले नै बोक्सीको तन्त्रमन्त्र गरेर बिरामी बनाइदिएको आरोप लगाउने गर्छन, इम्बानीका पति अहमदले भने, ‘अहिले जोखुको नाति बिरामी परेपछि त्यसको दोष मेरै श्रीमतिलाई लगाएर कुटपिट गरे।ु
बोक्सीको आरोपमा इम्बानीलाई कुटपिट गर्ने जोखु र उनका परिवारका सदस्यहरूविरूद्ध जिल्ला प्रहरी कार्यालय पर्सामा मङगलवार उजुरी दिएको पीडित इम्बानीकी छोरी सायराले बताइन। पर्साका प्रहरी उपरीक्षक सुदीप गिरीले पीडितहरूले दिएको जाहेरीको आधारमा दोषीलाई कारबाई गरिने बताए ।
प्रतिक्रिया