काशीनाथ यादव
वीरगंज, १५ भदौ । जिल्ला जनस्वास्थ्य कार्यालय, पर्साका प्रमुख अरुण महतोले सञ्चार माध्यमका बजेट पनि अछुतो राखेनन् । त्यसको रकम पनि भरपूर रुपमा हिनामिना गरेर सिध्याएका छन् ।
आर्थिक वर्ष २०७०/७१ मा प्रस्तुत कार्ययोजनाको बजेट उपशीर्षक नं. ३७०८०४ जनसंख्या कार्यक्रमको शीर्षक ‘ख’ (२) मा जनसंख्या विषयमा एफएम रेडियोमा सूचनामूलक प्रसारण गर्नको लागि रु. ४३ हजार, ‘ख’ (४) मा श्रव्य सामग्री अडियो भिडियो तयारीतर्फ रु. ७५ हजार, बजेट उपशीर्षक नं. ३७०८२३/२४ राष्ट्रिय क्षयरोग नियन्त्रण कार्यक्रम शीर्षकको चालु खर्च अन्तर्गत ‘ख’ को १४ मा जिल्लामा सञ्चार माध्यमबाट सूचना, सन्देश तथा कम्युनिकेशनको लागि विभिन्न कार्यक्रमहरुको लागि रु. ५ लाख ३९ हजार र बजेट उपशीर्षक नं. ३७०८०२३/२४ स्वास्थ्य शिक्षा सूचना तथा सञ्चार कार्यक्रम अन्तर्गत चालु खर्चतर्फको कार्यक्रम शीर्षक ख (३) मा स्वास्थ्य सम्बन्धी एफएम रेडियो कार्यक्रम वा सन्देश उत्पादन तथा प्रसारण गर्नको लागि रु. ४ लाख २० हजार तथा ख (६) छापा सञ्चार माध्यमहरुमा स्वास्थ्य चेतनामूलक सन्देशहरु प्रकाशन गर्नको लागि रु. २ लाख २० हजार गरी जम्मा रु. १२ लाख ९७ हजार (लगभग १३ लाख) बजेट छुट्याइएकोमा अन्तिम चौमासिकको वैशाख महिनामा ४/५ वटा पत्रिकामा एक–एक दिन चेतनामूलक सन्देश प्रकाशन गराएको देखियो । जसबापत लगभग रु. २५ हजार वीरगंजबाट प्रकाशित पत्रपत्रिकाहरुलाई भुक्तानी गरिएको हो ।
एफएम रेडियोको हकमा नारायणी एफएमलाई २०७१/३/१ गतेका दिन चेक नं. २८८४०९८ बाट रु. १,१८,४०७/–, रेडियो तराई १०७ मेगाहर्जलाई २०७१/३/१ गतेका दिन चेक नं. २८८४१०१ बाट रु. ४९,३३७/–, इन्द्रेणी एफएम ९७.६ लाई मिति २०७१/३/१ गतेका दिन चेक नं. २८८४०९१ बाट रु. ४९,३३६/– र पर्सा एफएम प्रा.लि. लाई मिति २०७१/३/१० गतेका दिन चेक नं. २८८४४७८ बाट रु. ९८,६३७/– गरी जम्मा ३ लाख १५ हजार ७ सय १७ रुपैयाँ पर्साको सञ्चारमाध्यमलाई जनस्वास्थ्य कार्यालयले भुक्तानी दिएको देखिन्छ ।
यसरी जनस्वास्थ्य कार्यालयको वार्षिक योजना अनुरुप सञ्चार माध्यमको लागि छुट्याइएको रु. १२ लाख ९७ हजार बजेटमध्ये आर्थिक वर्ष २०७०/७१ मा ३ लाख १५ हजार ७ सय १७ रुपैयाँ खर्च गरेको तथ्याड्ढले देखाउँछ । बाँकी रहन गएको रु ९ लाख ८१ हजार २ सय ८३ रुपैयाँ कार्यालय प्रमुखले हिनामिना गर्न सक्ने शीर्षकमा रकमान्तरण गरी सञ्चार जगतको पैसा पनि स्वाहा गरेका छन् । जुन कुरा पर्साबाट प्रकाशित समस्त छापाका सञ्चार माध्यमहरु लगायत एफएम रेडियो समेतलाई थाहा जानकारी छैन । एमएफ रेडियो सञ्चालन गर्नेहरुले कम्तीमा भए पनि रु ३ लाख रकम पाएका छन् । त्यसमा पनि सबैभन्दा बढी सामुदायिक रेडियोको रुपमा चर्चित नारायणी एफएमले कुन शीर्षकमा सो रुपैयाँ लिएका हुन् बुझ्न गार्हो छ । कार्यक्रम वा कार्यालय प्रमुखको अन्तर्वार्ता प्रकाशन गरेबापत सो रकम दिएको हुनसक्ने कार्यालय स्रोतले दावी गरेको छ ।
वीरगंजबाट विद्यमान सञ्चार गृहहरुले पाउने आफ्नो हकको रकम कार्यालय प्रमुख महतोले हिनामिना के कति कारणले गरेका हुन् र किन सञ्चार माध्यमलाई दिएका छैनन् यद्यपि कार्य सम्पादन गर्ने फाराममा सालैभरि बार्है महिना चेतनामूलक सन्देशहरु प्रकाशन प्रसारण गराएको भनी देखाएका छन् ।
सबैभन्दा आश्चर्यलाग्दो कुरा के छ भने आव २०७०/७१ को अन्तिम महिनाको रुपमा रहेको असार महिनामा मात्रै जनस्वास्थ्य कार्यालय प्रमुखले ४ करोड २९ लाख ४१ हजार ७ सय ४१ र पैसा ७८ विभिन्न शीर्षक र व्यक्तिहरुको नाममा चेक निकाशा गरी भुक्तानी गरेको लिखित रेकर्ड सम्बन्धित कार्यालयको अभिलेखमा सुरक्षित रहेको छ । चालु खर्चतर्फको कुल बजेट १६ करोड २ लाख ४० हजार ८ सय ७१ मध्ये वर्ष दिनको जेठ महिनासम्ममा १२ करोड खर्च गरिएको भए पनि १ महिनामा मात्रै ४ करोडको खर्च विवरण तयार पारी चेकबाट भुक्तानी गरिनुले पनि कार्यालय प्रमुखको नियतलाई दर्शाउँछ । बजेट सिध्याउनको लागि गरिएको यत्रो ठूलो परिमाणको भुक्तानीले प्रमुख महतोको कार्यकलाप भ्रष्टाचारमूलक रहेको देखाउनलाई अरु प्रमाण चाहिन्छ र ? लेखाविज्ञहरुको राय रहेको छ ।
प्रतिक्रिया