वीरगंज, १० जेठ । भारतीय नागरिक रवि गोयलको साथबाट नगद रु. २ लाख र सुन लुटी लगेको मोटरसाइकलसहित आरोपी पक्राउ भए पनि रुपैयाँ र सुन बरामद गर्न नसकिएको प्रहरीले जनाएको छ ।
प्राप्त विवरण अनुसार २०७१/२/७ गते बिहान ५ बजेको बखतमा घण्टाघर नजिकबाट भारतीय व्यापारी रवि गोयलको साथबाट नगद रुपैयाँ र सुन द्यच्ण्छऋडज्ञटट भारतीय नम्बर प्लेटको रातो रंगको मोटरसाइकल चढी आउने दुईजना अपरिचित व्यक्तिले लुटेर लगेको सूचना जिल्ला प्रहरी कार्यालयमा प्राप्त भएपछि प्रहरीले खोजतलाश गर्दा जिल्ला पर्सा, गाविस हरपतगंज वडा नं. ६ घर भई हाल वीरगंज वडा नं. १२ रानीघाटमा बसोबास गर्ने जिल्ला प्रहरी कार्यालय, मकवानपुरमा कार्यरत प्रहरी सहायक निरीक्षक जटाशंकर प्रसाद साहको घरबाट घटनामा प्रयोग गरिएको मोटरसाइकल बरामद भएपछि प्रहरीले भारतीय व्यापारीको उजुरीको आधारमा जिल्ला अदालतबाट म्याद थप गरी थप अनुसन्धानको लागि जटाशंकरलाई हिरासतमा राखिएको प्रहरीले जनाएको छ ।
घटना भएपश्चात शुरुमा प्रहरीलाई जानकारी गराउँदा नगद रु. २ लाख मात्रै भनिए पनि ८ गतेका दिन पीडित व्यापारीसँग लिएको उजुरीमा नगद रु. ७ लाख र सुनको गहना १० तोला उल्लेख गरिएको छ । तर विश्वस्त स्रोतले जनाए अनुसार उक्त घटनाको वास्तविकता भने अर्कै रहेको पाइएको छ । भारतीय व्यापारीले लुकाइ छिपाइ अवैध रुपमा ल्याउँदै गरेको दुई किलो सुन सहित नगद रुपैयाँ रु. २ लाख समेत प्रसनि जटाशंकर साहले लुटी लगेका थिए । निजको घरमा उक्त भारतीय नम्बरको मोटरसाइकल फेला परेपछि जटाशंकरलाई निलम्बन गरी प्रहरी हिरासतमा राखिएको छ । नगद र सुन आफूले नलिएको भनी जटाशंकरको अहिलेसम्मको भनाइ रहेको र सुन, नगद केही पनि फेला नपरेको पर्सा प्रहरी समेतको दावी रहेको देखिन्छ । पक्राउ परेका प्रसनि जटाशंकरले आफू सुन र नगद लुटेको भनी स्वीकार गर्नासाथ निजको जागिर जाने र भारतीय व्यापारीले ल्याउंदै गरेको सुन अवैध भएको हुनाले सुन बरामद गरिए पनि प्रहरीले घोषणा गर्नासाथ कागजपत्र नभएकोले राजस्व अनुसन्धानमा बुझाउनुपर्ने हुँदा उक्त कुरालाई गोप्य राखी आपसी भागवण्डा गरेको रहस्य खुल्न आएको छ ।
विश्वस्त स्रोतले जनाए अनुसार वीरगंजका एकजना पिसिओ सञ्चालक व्यापारीले प्रहरीसित कुरा मिलाई सुनको हकमा भाग शान्ति जय नेपाल गरेको र नगद र सुनमध्ये थुनामा रहेका साहको पनि हिस्सा दिइएको हो । उक्त सुन बरामद गर्न पनि नमिल्ने, लुट्नेले सकार गर्न पनि नमिल्ने, फिर्ता दिंदा कागजपत्र नभएकोले फिर्ता दिन पनि नमिल्ने प्राविधिक कठिनाइ भएको कारणले सम्बद्ध प्रहरी, व्यापारी, सहजकर्ता मिली आपसमा बांडफांड गरी सुन सिध्याएको स्रोतको दावी रहेको छ ।
प्रतिक्रिया