नेपाललाई तस्करहरुको स्वर्ग बनाउने काम राजा र कम्युनिष्टहरु बाट भयो ।
भारतिया पत्रकार रामाशिषको ४५ पृष्ठा लामो सन्-सनिपूर्ण अन्तर्बार्ता पढ्नाको लागी www.samabad.com हेर्नु होला ।
- रामाशीष, वरिष्ठ भारतीय पत्रकार
नेपालमा चार दशकदेखि कार्यरत भारतीय वरिष्ठ पत्रकार एबं 'दक्षिण एसीयाली राजनीतिक बिसेसज्ञ' रामाशीषसँग 'मंगोल भिजन साप्ताहिक'का सम्पादक कृष्णबहादुर तामाङले गरेको विशेष अन्तर्बार्ता ।
प्रश्न : तपाईं पहिलोपल्ट नेपाल आउँदाको र अहिलेको नेपाल-भारत बीचको सम्बन्धलाई कसरी व्याख्या गर्नुहुन्छ ?
उत्तर : मैले अघि नै भनी सकेँ नेपाल र भारतका जनताबीच कस्तो सम्बन्ध थियो भन्ने । मैले अघि नै भनेँ नि नेपालको धरतीमा खुट्टा टेक्नासाथ सामान्य भारतीय नागरिक अथवा तीर्थयात्रीलाई 'नेपाल पुण्यभूमि, देवभूमि भएको महसुस हुने गर्थ्यो चाहे त्यो भूमि तराईको जनकपुरधाम होस् अथवा भगवान पशुपतिनाथको पवित्र स्थान काठमाडौं । त्यस्तै नेपालका सामान्य मानिस स्वर्गारोहणपूर्व गया, राजगीर, जगन्नाथधाम, गंगासागर, प्रयाग, काँशी, अयोध्या, मथुरा-वृन्दावन हरिद्वार, ऋषिकेश, बद्री-केदार र रामेश्वरम आदि तीर्थदर्शन गर्ने अभिलाषा राख्ने गर्थे भने नेपालका बुद्धमार्गीहरु सिद्धार्थ गौतमले बुद्धत्व प्राप्त गरेको भारतीय पवित्रस्थल बोधगया र सारनाथ, बनारस दर्शन गरेर नै स्वर्ग सिधार्ने आकांक्षा राख्दथे । जबकि वर्तमान अवस्थामा जुन 'नेपाल-भारत सम्बन्ध' भनेर कुरा गरिन्छ नि म त्यसलाई नेपाल र भारतको सत्तारुढ सरकार र शासकहरु बीचको सम्बन्ध भन्छु । जहाँसम्म दुवै देशका जनताबीचको सम्बन्धको कुरा छ त्यो त नंग र मासुको सम्बन्ध रहेको थियो अहिले पनि कायम छ र भविष्यमा पनि कायम रहने छ यो मेरो अटल विश्वास हो ।
यदि हामी शासकहरु बीचको सम्बन्धकोसिंहावलोकन गरौं भने भारतका स्वतन्त्रताप्रेमी नेता र सामान्य जनताले स्वाधीनता र लोकतन्त्रको लडाईं लामो समयसम्म लडे तर एउटा निकटतम छिमेकी भएर पनि नेपालका तत्कालीन राणा शासकहरुले पूरै स्वतन्त्रता संग्रामको दौरानमा भारतीय जनताको साथ कहिले पनि दिएनन् बरु भारतलाई गुलाम बनाएर राखेको अंग्रेजहरुलाई नै सघाए । इतिहास साक्षी छ कि सन् १८५७ को प्रथम स्वतन्त्रता संग्रामलाई सिपाही विद्रोह दबाउन नेपालका तत्कालीन तानाशाह जंगबहादुर राणाले आफ्नो १२ हजार फौज लिएर भारत पसेका थिए र बिहारको जगदीशपुरदेखि लखनउसम्मको सैयौँ गाउँमा आगो लगाएर लुटपाट मच्चाएका थिए । त्यति मात्र होइन भारतको महान् स्वतन्त्रता सेनानी र कानपुरको शासक नाना साहेब पेशवाले अंग्रेजी फौजको आक्रमणबाट ज्यान जोगाउन नेपाली सीमाको जंगलमा शरण लिँदा जंगबहादुर राणाले अंग्रेजी हुकुमतको बफादारीमा 'नाना साहेबलाई हत्या गरे र उहाँको चित्ताबाट संकलित हड्डीका टुक्राहरु अंग्रेजी शासकको दिल्ली दरबारमा बुझाएका थिए ।
त्यति मात्र हो र जंगबहादुरले नेपालमा शरण लिन आएकी नाना साहेबकी धर्मपत्नी काशीबाईसहित दुईवटी महारानीलाई बलात्कार गरेर उनीहरुसित बाँचेका बहुमूल्य नौलखा हार कब्जामा लिएको थियो । भारतीय स्वतन्त्रता संग्रामको महान् सेनानी नाना साहेब पेशवाका महारानीहरुद्वारा निर्मित भवन तथा मन्दिर अहिले पनि राजधानीको थापाथली प्रसूतिगृह निर दयनीय अवस्थामा विद्यमान छ ।
जंगबहादुर राणाको यसै भक्तिबाट खुशी भएर नै अंग्रेजहरुले भारतको एउटा महत्वपूर्ण क्षेत्र 'बाँके, बर्दिया, कंचनपुर र कैलाली नेपाली शासक जंगबहादुर राणालाई बक्सिसको रुपमा प्रदान गरे । त्यसलाई नयाँ मुलुक नामाकरण गरे । इतिहासको पाना पल्टाउँदा त्यसै बेलादेखि नेपाल-भारत सम्बन्धमा तनाव उत्पन्न भयो र सन् १९५० मा जब राजा त्रिभुवनले राणाहरुको घेराबन्दीबाट फुत्केर भारतमा शरण लिए दिल्ली सम्झौता गरेर राणाहरुको जहानियाँ शासनको अन्त गरे त्यसै बेलादेखि राणाहरु भारतप्रति झन् आगो रहँदै आएका छन् ।
शाहवंशीय राजा त्रिभुवनको साहस र भारतकै सहयोग-समर्थनले सन् १९५० मा नेपालमा पहिलो पटक प्रजातन्त्रको स्थापना भयो र बहुदलीय संसदीय प्रजातान्त्रिक प्रणाली अन्तर्गत १९५९ मा पहिलो पटक आम निर्वाचन भयो दुई-तिहाई बहुमत प्राप्त बीपी कोइरालाको नेतृत्वमा सरकार पनि गठित भयो तर त्यो शिशु प्रजातन्त्र धेरै समयसम्म टिक्न सकेन । किनकि राजा त्रिभुवनको अत्यन्त महात्वाकांक्षी छोरा युवराजाधिराज महेन्द्रले राजगद्दीमा विराजमान हुनेबित्तिकै सैनिक कारवाही गरी शिशु प्रजातन्त्रको हत्या गरे तख्तापलट गरे र शासनको बागडोर आफ्नो हातमा लिए निरंकुश तानाशाह शाहवंशीय राजाको प्रत्यक्ष शासनको प्रारम्भ भयो । यस पाली नेपालका प्रजातन्त्रवादी नेताहरु भारतको शरणमा गए र त्यहीँबाट राजा महेन्द्रका विरुद्ध सशस्त्र क्रान्तिको प्रारम्भ गरे । परिणामस्वरुप 'भारत'सित बदला लिने आक्रोसमा राजा महेन्द्रले भारत विरोधी 'हेट इण्डिया' अभियान व्यापक रुपमा प्रारम्भ गरे तथा सन् १९६२ मा चीनले भारतमाथि हमला गरेपछि त दुवै देशबीचको सम्बन्ध निकै बिग्रीयो ।
यस हेट इण्डिया अभियानलाई बुझ्न यसको ऐतिहासिक पृष्ठभूमिमा जानुपर्छ । राजा त्रिभुवनको एउटा धेरै नै निकट सहयोगीले बताएअनुसार त्रिभुवनले आफ्नो जेठो छोरा महेन्द्रलाई राजगद्दीको उत्तराधिकारी बनाउन चाहेका थिएनन् किनकि त्रिभुवनको इच्छा विपरीत राणाहरुको षड्यन्त्रमा फँसेर राज परम्परालाई तोड्दै महेन्द्रले आफ्नै मातहतका राणा जनरलको छोरीसँग बिहे गरेका थिए । अर्को कुरा के थियो भने महेन्द्र जन्मजात अपाङ्ग थिए बाङ्गे आँखा थिए यसकारणले उनी हिन्दू परम्पराअनुसार राजिसंहासनको उत्तराधिकारी बन्न अयोग्य थिए । राजा त्रिभुवनको यस मानसिकताको सुईंको पाउनेवित्तिकै युवराज महेन्द्रले अनशन गरे र राजा त्रिभुवनबाट राजगद्दीको उत्तराधिकारी बन्ने अधिकार पाए । तर यसपछि त आफ्ना राणा ससुरालीको मिलोमतोमा आफ्ना बुबा त्रिभुवन र उहाँले अत्यन्तै श्रद्धा गर्ने मुलुक भारतका विरुद्धु पनि भूमिगत मोर्चा बनाइहाले । राजा र राजदरबारमाथि हावी राणावंशी कमाण्डर र भाई-भारदारहरुको मन-मस्तिष्कमा सत्ता गुमाएको आक्रोश पहिलेदेखि नै थियो ।
जबकि राजा महेन्द्रले राजगद्दीमा बसेपछि त स्वाभाविक रुपमा राजा र राणाहरुको भारतप्रति संगठित 'भारत-विरोधि' प्रारम्भ भए । अनि जब राजा महेन्द्रले १९५९ को प्रथम आम निर्वाचनमा दुई-तिहाई बहुमतले विजयी 'नेपाली कांग्रेसको सरकार' र नेपालमा गठित प्रथम संसदलाई बर्खास्त गरी नेपालको प्रथम निर्वाचित प्रधानमन्त्री बीपी कोइराला, वरिष्ठ नेता गणेशमान सिंह, सभामुख कृष्णप्रसाद भट्टराईसहित सैयौँ नेता र कार्यकर्ताहरुलाई अनिश्चित कालका लागि जेल चलान गरे स्वतन्त्र भारतको प्रथम प्रधानमन्त्री पं. जवहारलाल नेहरुले राजा महेन्द्रको यस कारवाहीको भारतीय संसदमै विरोध गरे । उनले भारतीय संसदलाई सम्बोधित गर्दै भने 'आज नेपाल में स्थापित एक शिशु प्रजातन्त्र की हत्या कर दी गई'- भारतीय प्रधानमन्त्रीको यस वक्तव्यले राजा महेन्द्र झन् आगो भए ।
नेपाली राजनीतिको त्यही डाँबाडोल अवस्थामा बिहारको राजधानी पटनामा आयोजित नेपाली कांग्रेसको संकटकालीन अधिवेशनमा शाही सेना र पुलिसको आँखाबाट फुत्केर भारतीय सीमाना पस्न सफल भएका नेपाली कांग्रेसका वरिष्ठ नेता सुवर्ण शमशेरसहित भारी संख्यामा नेता-कार्यकर्ताहरुले भाग लिए जसमा राजा महेन्द्रका विरुद्ध सशस्त्र क्रान्ति गर्ने निर्णय भयो । साथै सशस्त्र क्रान्तिको संचालनको लागि सुवर्ण शमशेरलाई 'चीफ डिक्टेटर' र सभापति बनाइएको घोषणा भयो । नेपाल अधिराज्यभरि सशस्त्र क्रान्ति साहस र भारी उत्साहका साथ चल्दै थिए कि यसै बीच चीनले भारतमाथि हमला गरिहाल्यो र फलस्वरुप सुवर्णजीले आफै बसेको कलकत्तामा सशस्त्र क्रान्ति स्थगित गर्ने घोषणा गर्नुभयो । उहाँले घोषणामा भन्नुभयो 'हाम्रो मित्र देश भारतमाथि हमला भएको छ भारत संकटमा छ यसैले हामी आफ्नो सशस्त्र क्रान्ति स्थगित गर्छौं । चीनीयाँ आक्रामणपछि नै नेपालका राजा महेन्द्रद्वारा चाइना कार्डको खेल शुरु गरियो । नेपालभरि 'चीन जिन्दावाद'को नारा लाग्न थाल्यो ।
राजा र राजदरबार नियन्त्रित तत्कालीन शासनतन्त्र राजदरबार-पालित पंचायती र कम्युनिष्ट नेताहरुद्वारा कलेज-हाइस्कूलदेखि प्राइमरी स्कूलसम्मका बच्चाहरुको दिमागमा एउटै नारा भर्ने अभियान प्रारम्भ भयो । 'भारत बदमाश छिमेकी देश हो र उसले नेपाललाई निल्न चाहन्छ खान चाहन्छ' अतः वर्तमान संकटमा राष्ट्रको अस्तित्व र राष्ट्रियता जोगाउन नेपालका हरेक नागरिक र बच्चा-बच्चाको प्रथम कर्तव्य हो । यति मात्र होइन राजा महेन्द्रपछि राजा वीरेन्द्रको शासनकालमा पनि भारतका प्रति दुर्भावना फिँजाउने अभियानमा कुनै कमी आएन । भारतमाथि आक्रमण गर्ने चीन, पाकिस्तान र भारत-सोभियत संघको मैत्रीबाट आक्रोशित विश्वका अन्य महाशक्ति देशहरुले पनि भारत विरोधी अभियानको आगोमा घिउ नै थपे । यस प्रकारले राजा महेन्द्र र आक्रोशित राणाहरुले भारत विरोधको जुन जरा रोपे त्यसलाई कम्युनिष्ट र कहिलेकाहीँ नेपाली कांग्रेसले पनि अहिलेसम्म मल-जल र हावा दिँदै आएको छ ।
ठीक छ राणाहरुको आक्रोशको त एउटा कारण बुझ्न सकिन्छ कि तिनीहरुका १०४ वर्ष पुरानो शासनको अन्त गर्नमा भारतले सहयोग गर्यो तर शाहवंशीय राजाको त १०४ वर्षको जेलवीवनबाट भारतले नै मुक्त गराएको थियो । अर्थ स्पष्ट छ कि आफ्नो गद्दीमा खतरा महसुस गरी बैगुनी शाहवंशीय राजाहरु पनि भारतविरोधी अभियानमा लागि रहे । राजा महेन्द्रका छोरा राजा वीरेन्द्र पनि मृत्युपर्यन्त राष्ट्रिय-अन्तर्राष्ट्रिय स्तरमा भारतविरोधी विषवमन गरे तथा भारतको दुश्मन राष्ट्र र भारतमा आतंकवादी गतिविधिमा संलग्न भारतको आतंकवादी र भारतविरोधी बाह्य शक्तिहरुसँग हात मिलाएर भारतलाई क्षति पुर्याउने सक्दो प्रयास गरे नेपाललाई तस्करहरुको स्वर्ग र भारतविरोधी आतंककारीहरुको अड्डा बनाउनमा पनि कहिले पनि कुनै कसर छाडेनन् । यो पनि सर्वविदितै छ कि राजा वीरेन्द्र वंशको हत्यापछि नेपालको राजगद्दीमा बस्ने राजा ज्ञानेन्द्रले पनि 'विनाशकाले विपरीत बुद्धि' अर्थात् अन्तिम समयमा आफ्नो भारतविरोधी घृणित र आत्मघाती स्वरुप देखाइ नै हाले ।
*** क्रमश: ***
visit website : www.samabad.com
E-mail : news.mongol@gmail.com
प्रतिक्रिया